नेकपा (माओवादी केन्द्र) काभ्रेका इन्चार्ज सूर्यमान दोङ लालध्वजले पूर्व मन्त्री गोकुल बाँस्कोटाले फोरजीसेवा विस्तार गर्दा ७ अर्ब भ्रष्टाचार गरेको आरोप लगाएका छन् । जनयुद्ध दिवसको उपलक्ष्यमा आइतबार खानीखोला गाउँपालिकामा योङ कम्युनिष्ट लिग नेपाल र अखिल नेपाल खेलकुद महासंघको गाउँ अधिवेशनलाई सम्बोधन गर्दै इन्चार्ज लालध्वजले उक्त आरोप लगाएका हुन् ।

सम्बोधनको क्रममा जिल्ला इन्चार्ज लालध्वजले एमालेले भ्रष्टाचार बाहेक देशलाई अरु केही नदिएको समेत बताउँदै कोरोनाको नाममा १९ अर्ब भ्रष्टाचार गरेको उनको आरोप छ । ‘जनतालाई समृद्धिको कुरा गर्ने र व्यबहार भने एमालेको भ्रष्टाचार बाहेक केही भएन । ३ वर्षसम्म मुलुकलाई चुस्ने काम मात्र भएको थियो ।’ उनले भने, ‘कोरोनामा मात्र एमालेले १९ अरब भ्रष्टाचार गरेको छ । एनसेलले १० अरबमा फोरजी ल्यायो, त्यहीं प्रकारको फोरजी नेपाल टेलिकममा गोकुल वास्कोटाले १७ अरबमा ल्यायो । गोकुल बाँस्कोटाले ७ अर्ब भ्रष्टाचार गरे ।’

उनले युवा तथा खेलाडीहरुलाई एमसिसि या राष्ट्र मध्य एक रोज्नुपर्ने बेला आएको बताए । ‘अब युवाहरुको एउटा अहम प्रश्न उभिएको छ । एमसिसी रोज्ने कि राष्ट्र रोज्ने ? अब युवाहरूले बुझ्नुपर्छ ।’ उनले भने, ‘काँग्रेस–एमाले एमसिसि जस्ताको तस्तै पास गर्नुपर्छ भनिरहेको छ । तर माओवादी केन्द्रले राष्ट्रिय हित बिपरित कुराहरु हटाएर मात्र पास गर्नुपर्छ भनेको छ ।’

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।