काभ्रेमा झुट्टा विवरण पेश गरी नेपाली नागरिकता प्रमाण-पत्र लिन खोज्ने २ पुरुष पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार उनीहरुलाई सोमबार पक्राउ गरिएको हो ।
पक्राउ पर्नेहरुमा जिल्लाको साविक खार्पाचोक गा.वि.स. वडा नं. ०३ हाल रोशी गाउँपालिका वडा नं. ०८ बस्ने कर्म सिंको छोरा वर्ष ६४ को नानी तामाङ र सोही वडा घर हुने नानी तामाङ र जमुना तामाङको छोरा हुँ भनि बताउने धर्मराज तामाङ रहेका छन् ।
उनीहरुले रोशी गाउँपालिका वडा नं. ०८ बस्ने नानी तामाङ र जमुना तामाङको छोरा हो हुँ भनी जन्म दर्ता प्रमाणपत्र समेत बनाई रोशी गाउँपालिका वडा नं. ०८ को वडा कार्यालयबाट आवश्यक विवरण सहित बंशजको आधारमा नेपाली नागरिकता प्रमाणपत्र पाउँ भनि आवेदन दिएका थिए ।
जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट नेपाली नागरिकता प्रमाणपत्र प्रदान गर्नको लागि उक्त प्रमाणित अनुसूची फारम २०७८।११।०२ गते जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा पेश गरेकोमा वंशजको आधारमा नेपाली नागरिकता पाउँ भन्ने व्यक्ति र छोरा हो भनि सनाखत गर्ने बाबुसँग आवश्यक कुराहरु सोधपुछ गर्दा निजहरुले दिएको जवाफ र सम्बन्धित वडा कार्यालयबाट प्रमाणित भई आएको नागरिकताको अनुसूची फारममा उल्लेखित व्यहोरा फरक पर्न गएको प्रहरीले जनाएको छ ।
फरक भएपछि आवश्यक सोधपुछ पश्चात छोरा हुँ भनि नागरिकता दाबि गर्न उपस्थित भएको व्यक्ति र बाबु हुँ भनि सनाखत गर्न उपस्थित भएको व्यक्ति सहोदर बाबु–छोरा नभएको खुलेको जनाएको छ । निजहरुले झुट्टा विवरण पेश गरी सरकारी कार्यालय समेतलाई झुक्यानमा पारी नक्कली बाबु छोरा बनी जन्म दर्ता समेत बनाई नेपाली नगरिकता लिन खोजेकाले निजहरुलाई पक्राउ गरिएको थियो ।
पक्राउ परेका उनीहरुलाई काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट म्याद थप अनुमती लिई आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















