प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल एमसीसीको विषयमा भ्रमको जालामो जेलिएको टिप्पणी गरेका छन्।

आज (बुधबार) रिपोर्टर्स क्लब नेपालले बाराको सिमरामा आयोजना गरेको ‘विशेष साक्षात्कार’ मा बोल्दै नेता पौडेलले एमसीसीको विषयमा देश र जनतालाई धोका दिनेगरि कसैले पनि ‘डबल–स्ट्याण्ड’को भूमिका खेल्न नहुने टिप्पणी गरे। उनले भने – ‘प्रचण्ड र माधव नेपाल एमसीसीलाई लिएर भ्रमको जालामो जेलिएका छन्। कम्युनिष्टका नेताहरु जेलिएका छन्। उहाँहरू प्रचारको जालोमा जेलिनुभयो। एमसीसीको सुरुवात स्वयं झलनाथजीबाट भएको हो। यो एमसीसी सम्झौता सत्तामा पुगेका कुनैपनि कम्युनिष्ट नेता यो सम्झौताबाट अलग छैनन्। उहाँहरु सबै संलग्न हुनुहुन्छ। सबै नेता पालैपालो संलग्न हुनुहन्छ । यो सुरुमा संसद्बाट अनुमोदन गर्ने कुरा थिएन। केपी ओली प्रधानमन्त्री बनेपछि संसद्बाट पारित गर्नुपर्छ भन्ने बनाउनुभयो।

उनले थपे – अमेरिकाको यो संसद्बाट पास गर्नुपर्छ भन्ने कुनै दबाब थिएन। यसलाई संसद्मा लैजान्छु भनेर उहाँले त्यसो गर्नुभयो। अहिले एमाले त्यो अनुमोदन गर्नबाट पछि हट्न मिल्छ ? एमसीसी हुन्न भन्ने कुरा यो देश र सारा दुनियाँलाई धोका हो कि होइन ? यसको परिणाम के हुन्छ ? नेपालको राजनीतिक अवस्था र अर्थतन्त्र कहाँ पुग्छ ? आज दातृ निकायहरुलाई हामीविरुद्ध प्रयोग गर्ने काम पनि हुन्छ, म समाजवादी हो। म नेपालवादी हो। यस्तो किसिमको फट्याइँ मलाई मन पर्दैन। डबल स्ट्याण्ड कसैले पनि नगरौं।’

उनले अब देशको विकास गर्नेगरि सबै दल जिम्मेवार रुपमा प्रस्तुत हुनुपर्ने धारणा राखे। उनले भने, ‘देशको विकास गरौं । नेताहरुले विकास नअलमल्यायौं। सधैं नेपाल गरिबी रहनुपर्ने ? विद्युत त देशको विकास गर्ने माध्यम हो। देशको विकासलाई अवरोध नगरौं। कुनै कम्युनिष्ट नेता पनि अलग हुन पाउँदैनन्। जनतालाई भ्रम पारिएको छ। यो देशविरुद्ध अन्याय र बेइमानी हो नि। यहाँका कम्युनिष्टले भ्रम छरे। मुलुकको हितको लागि ठोस काम गर्नुपर्छ नि। भ्रमको कुहिरोमा सधैं देशलाई डुबाइराख्ने ?’

उच्चस्तरीय राजनीतिक समन्वय समितिका संयोजकसमेत रहेका नेता पौडेलले प्रचण्ड र माधव नेपाल एमसीसीबारे भ्रमको जालामो फसेको जिकिर गरे। उनले भने – ‘सुरुमा एमसीसी ल्याउनमा प्रचण्ड र माधव नेपाल आफै लाग्नुभयो। पछि क–कसले कुन–कुन सुत्रबाट यसको विरुद्धमा जानुपर्छ भन्ने कुरा आयो, त्यो कुरा आएपछि उहाँहरुले आफ्नो तर्कशक्ति एमसीसी खराब हो भन्नेमा खर्च गर्नुभयो। उहाँहरु अहिले माकुरा आफ्नो जालोमा फसेजस्तो फस्नुभयो। उहाँहरु आफैले फैलाएको झुटो अफवाहको जालामो आफै अल्झिनुभएको छ। मैले त जानेको कुरा यत्ति हो।’

उनले आफू त सबैसँग सहकार्य गरेर जाने व्यक्ति भएको पनि उल्लेख गरे। ‘उहाँहरु प्रचण्ड र माधवजी परिवर्तनको पक्षमा उभिनुभएको छ। सकारात्मक दृष्टिकोण पाएको हुनाले म उहाँहरुसँग उभिएको पनि छु। अहिले उहाँहरु नचाहिने कुरामा फस्नुभएको छ, म उहाँहरुलाई त्यहाँबाट उद्दार गर्न चाहन्छु।’

उनले आफ्नै पार्टीभित्र पनि एमसीसीबारे जनतालाई बुझाउनको लागि पर्याप्त भूमिका नखेलिएको गुनासो पोखे। उनले थपे–‘मैले मेरो पार्टीभित्र पनि एमसीसीलाई लिएर जनतामा बुझाउनुपर्छ भनेको छु, , संयन्त्रभित्र पनि यही कुरा उठाएको छु, पार्टी सभापति एवम् प्रधानमन्त्रीलाई पनि भनेके छु–तपाईँका महामन्त्री नबोल्ने ? मन्त्रीहरु नबोल्ने ? जनताको बीचमा यो कुरा लान नसक्ने भनेर भनेको छु, एमसीसी मेरो काँधमा मात्रै थुपार्न हुँदैन भनेर पनि देउवाजीलाई भनेको छु। मैले हाम्रा नेताहरुलाई यसको पक्षमा बोल भनेको छु। कांग्रेसका नेताहरुले एमसीसीबारे स्पष्ट कुरा जनताको बीचमा ल्याउनुपर्छ।’

उनले एमसीसी सदनमा लैजानुभन्दा अघि नै जनतालाई सही कुरा बुझाउनुहोस् भनेर पनि आफूले प्रधानमन्त्री देउवालाई भनेको स्मरण गराए। उनले भने, ‘एमसीसीबारे यो यथार्थ हो भनेर जनतालाई भन्नुहोस भनेको छु, हाम्रो पार्टीका नेताहरु स्पष्ट रुपमा उभिनुपर्छ। आफ्नो पक्षमा सही ढंगले उभिनुपर्छ, एमसीसी पास गरिदिउँ, लागु गरिदिउँ अनि यसबारे भ्रम आँफै मेटिन्छ भन्ने देउवाजीको भनाइ छ, तर, आफ्नो कुरा जनतालाई भन्नुपर्छ। अल्छी गर्नु हुँदैन।’

उनले एमसीसीको अनुदान लिनु भनेको लोभको कुरा नभएको भन्दै पत्रकारको प्रश्नमा प्रतिवाद गरे। उनले भने, ‘अमेरिका यहाँ आइरहेको होइन, एउटा कम्पनी बनेर खोलेर राज्य बनाउन लागिरहेको छैन। विजुली बेचेर पैसा कमाउ भनेको छ, अनुदान दिएको हो। हामीले नै अनुदान चाहियो भनेर भनेको हो। अहिले लिनुपर्छ। फेक प्रचार गरेर उसलाई इब्यारेसिङ गर्ने काम गर्नुहुँदैन।’

उनले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली एमसीसीको विपक्षमा उभिनै नसक्ने पनि दाबी गरे। उनले भने, ‘ओलीजी एमसीसीको विपक्षमा जानै सक्नुहुन्न। कसरी जानुहुन्छ ? हामी हेर्छौं। एमसीसी संसद्मा गएपछि हामी उहाँको अग्निपरीक्षा हेर्छौं। ओली विपक्षमा जानुभयो भने उहाँको राजनीतिक विश्वसनियता समाप्त हुन्छ। किनभने उहाँ नै होइन ? एमसीसी संसदबाट पास गर्छौं भनेर निर्णय गराउने मान्छे ? अनि किन त्यस्तो गराएको त ? नेपाली जनतालाई धोका दिन हो त ? आएको अनुदान फर्काउनको लागि केपी ओलीले षड्यन्त्र गरेको हो त ? यदि उहाँ विपक्षमा जानुभयो भने षड्यन्त्र गरेको सावित हुन्छ।’

उनले आगामी बैशाख ३० गते नै स्थानीय तहको निर्वाचन हुने विश्वास दिलाए । उनले भने, ‘निर्वाचन तोकिएकै मितिमा हुन्छ । त्यसको लागि सबै तयार हुनुपर्छ। नेपालको राजनीतिमा परिवर्तन आयो, संविधान आयो, जनताले अधिकार पाए, यसलाइ सहन नसक्ने तत्वहरुको एउटा षड्यन्त्र छ। र, यसलाई उल्टाउने प्रयत्न छ। त्यो उल्टाउने प्रयत्नमा कमसेकम प्रचण्ड, माधव नेपालहरु हुँदैन भन्नेमा हुनुहुन्छ, परिवर्तनको पक्षमा भएको कारणले उहाँहरुसँग सहकार्यको आवश्यकता छ।’

उनले संविधानमा व्यवस्था भएको निर्वाचन प्रणालीअनुसार पनि कसैले पनि एकल बहुमत ल्याउनसक्ने अवस्था नरहेकोले गठबन्धन आवश्यक रहेको औंल्याए। उनले भने, ‘यो संविधानले कस्तो निर्वाचन प्रणाली बनाइदियो भने कुनै पनि एक दलले बहुमत ल्याउन सक्दैन। समावेशीको कारणले गर्दा पूर्ण बुहमत एक पार्टीलाई आउन सक्दैन, आयो भने त्यो अपवादमा मात्रै हुन्छ। सरकार बनाउन त बहुमत चाहिन्छ। बहुमत पुर्याउनेगरि संसद्मा जानुपर्छ। त्यसको लागि एक्लै सम्भव छैन। सबै मिलेर जानुपर्छ।’

आफ्नो अमुल्य प्रतिकृय राख्नुहोला