कोभिड–१९ संक्रमण रोकथामको लागि भन्दै जिल्ला प्रशासन कार्यालय काभ्रले ३ वटा पालिकालाई बाहेक अरु पालिकालाई आलोपालो प्रणालीमा सेवा प्रवाह गर्ने भएको छ । सहायक प्रमुख जिल्ला अधिकारी अमर दिप सुनुवारले एक सूचना जारी गर्दै आलोपालो प्रणालीमा सेवा प्रवाह गर्ने जानकारी दिएका हुन् ।
कोभिड–९ को नयाँ भेरियन्ट ओमिक्रोन सहितको संक्रमण हाल कायमै रहेकोले यो प्रणाली कायम रहेको सुनुवारले बताएका छन् । जिल्लाको सदरमुकामबाट भौगोलिक रुपमा टाढा रहेका चौंरीदेउराली गाउँपालिका, तेमाल गाउँपालिका र खानीखोला गाउँपालिकाहरुलाई भने दैनिक सेवा प्रवाह गरिने बताइएको छ ।
त्यसैगरी महाभारत गाउँपालिकाको सेवाप्रवाह इलाका प्रशासन कार्यालय, देवीटारबाट उपलब्ध जनाएको छ । सेवा लिन आउँदा खोप कार्ड (मोबाइलमा फोटो तथा विद्युतीय छायाप्रति) अनिवार्य लिएर आउन समेत अनुरोध गरेको छ । शान्ति सुरक्षा, मुद्दा र राहदानी सेवा भने दैनिक प्रवाह हुने बताइएको छ ।
‘जनस्वास्थ्यका मापदण्ड (मास्क, सामाजिक दूरी, स्यानिटाइजर) को पूर्ण परिपालना गरी यस कार्यालयबाट निरन्तर प्रदान गरिँदै आइएको अत्यावश्यक सेवा अन्तर्गतका शान्ति सुरक्षा, मुद्दा र राहदानी बाहेकका अन्य सबै प्रकारका सेवाप्रवाह सम्बन्धी कार्यहरुलाई व्यवस्थित बनाउन मिति २०७८।११।०८ गतेबाट लागू हुने गरी देहायबमोजिम स्थानीय तहगत आधारमा आलोपालो प्रणालीमा सेवाप्रवाह गरिने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ ।’ सूचनामा भनिएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















