काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले विगतमा विभिन्न पार्टीमा रहेका क्रमशः आफ्नो पार्टीमा आउने र केन्द्रित हुने लहर नै चलेको बताएका छन् ।
सोमवार नेपाली कांग्रेस र नेकपा एमालेका करिब दुई दर्जन नेता तथा कार्यकर्तालाई माओवादीमा प्रवेश गराउँदै अध्यक्ष दाहालले देशैभरि नै माओवादी केन्द्रमा फर्किने र प्रवेश गर्ने लहर नै चलेको बताएका हुन् । नवप्रवेशीलाई अध्यक्ष दाहालले एक कार्यक्रमकाबीच अबिर र खादा लगाई पार्टीमा स्वागत गरेका थिए ।
मधेस प्रदेशमा मधेसी जनताको पहिचान र अधिकारको लागि लड्ने पार्टी माओवादी केन्द्र नै हो भन्ने धारणा एकपटक फेरि फैलिएको उल्लेख गर्दैअध्यक्ष दाहालले मधेशमा मात्रै नभइ देशैभर माओवादीप्रति जनताको नयाँ उभार देखिएको बताए । उनीहरुलाई पार्टीमा उचित जिम्मेवारी दिइने उनको भनाइ थियो ।
यसरी प्रवेश गर्नेहरुमा नेकपा एमालेमा रहेका रौतहट जिल्ला मौलापुर नगरपालिकाका वडा अध्यक्षका प्रत्यासी तथा कार्यपालिका सदस्य कामेश्वरप्रसाद साह कानूसहितका नेता तथा कार्यकर्ता छन् । त्यसैगरी सुदूरपश्चिमबाट नेपाली कांग्रेसमा क्रियाशील सदस्य जयराज भट्ट, व्यवसायी विष्णु भट्ट र विनोदप्रसाद भट्टलगायत माओवादीमा प्रवेश गरेका थिए ।





















