प्रधानमन्त्रीनिवास बालुवाटारमा बिहीबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको छलफलपछि गठबन्धन लगभग टुटेको निष्कर्षमा दुवै नेता पुगेका छन्। उनीहरुबीचको संवाद सौहार्दपूर्ण नभएको स्रोतले जनाएको छ।
एमसीसीको विषयमा दुवै नेताबीच यसअघिकै अडान कायम रहेको थियो। बैठकमा प्रधानमन्त्री देउवाले यसअघिझैं जसरी पनि एमसीसी पारित गर्नुपर्नेमा जोड दिएका थिए।
‘जसरी पनि एमसीसी पारित गर्नुपर्ने दबाबमा छु। तपाईंहरुले साथ दिनुपर्छ। यही गठबन्धनकै सहयोगमा एमसीसी पारित होस् भन्नेमा म छु’, दुई नेताको संवाद उद्धृत गर्दै स्रोतले भन्यो।
देउवाले आफूमाथि एमसीसी पारित गर्न कति दबाब रहेको भन्ने अनुमान गर्न fनसक्ने भन्दै प्रचण्डलाई आश्वस्त बनाउने प्रयास गरेका थिए। ‘गठबन्धन टुटे टुटोस्, प्रधानमन्त्री पद गए जाओस्, म एमसीसी पारित गर्छु’, देउवाको भनाइ थियो।
देउवाले गठबन्धनका दलहरु माओवादी केन्द्र र एकीकृत समाजवादीले साथ नदिए नेकपा एमालेसँग सहयोग लिने संकेत गरेका थिए। त्यसका लागि दीर्घकालीन सहकार्यको सम्भावना समेत उनले दर्शाएका थिए।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















