काभ्रे जिल्लाको मण्डनदेउपुर नगरपालिकाको वडा नं. १२ स्थित ज्याम्दीमा शहरी स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा आएको छ । विहिबार नगर प्रमुख टोकबहादुर वाइबाले उद्घाटन गरिएसँगै केन्द्र सञ्चालनमा आएको हो ।

केन्द्रको उद्घाटन गर्दै नगर प्रमुख वाइबाले स्वास्थ्यलाई जनताको पहुँचमा पु¥याउनका लागि शहरी स्वास्थ्य सेवा केन्द्र स्थापना गरिएको बताए । ‘जनताको स्वास्थ्य प्रति हामी गम्भिर छौं । त्यसैले निरन्तर रुपमा स्वास्थ्य क्षेत्रमा विशेष योजना निर्माण गर्दै हामी अघि बढेका छौं ।’ वाइबाले भने, ‘नेपाल सरकारको नीतिअनुसार हरेक वडामा एउटा स्वास्थ्य संस्था रहने प्रावधान भए पनि भौगोलिक अवस्था हेरी स्थानीय सरकारले थप शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याउन पाउने भएसँगै भेगीय आवश्यकता हेरी यहाँ स्वास्थ्य सेवा केन्द्र स्थापना गरेका हौं ।’

सो अवसरमा वाइबाले मण्डनदेउपुर नगरबासीको शिक्षा, स्वास्थ्य, पूर्वाधार विकासमा कुनै सम्झौता नगर्ने बताए । ‘नगरपालिकाले जनस्वास्थ्यलाई थप सबलीकरण गर्न नेपाल सरकारले निःशुल्क उपलब्ध गराएको ३५ थरी औषधीका अलावा नगरपालिकाले थप  औषधि खरिद गरेर वितरण गरेकाले सो लाभ लिन वडाबासीहरुलाई म आग्रह गर्न चाहन्छु ।’ उनले भने, ‘कोरोना भाइरस सुरु हुँदादेखि होस वा अन्य अवस्थामा नगरवासीलार्ई सहज स्वास्थ्य सुविधा उपलब्ध गराउन नगरपालिका हरदम लागि परेका छौं ।’

त्यसैगरी कार्यक्रममा बोल्दै स्वास्थ्य शाखा प्रमुख दिपक घिमिरेले नगरपालिकाको वडा नम्बर १, ४, ६ र ९ आधारभूत स्वास्थ्य केन्द्र र वडा नम्बर २ बालुवापाटी स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर सञ्चालनमा ल्याइएको बताए । ‘भौगोलिक दुरी र जनघनत्वका हिसाबमा वडा नं. १२ को देउराली, १० को चण्डेनी  र वडा नं. २ को नगरकोटमा सहरी स्वास्थ्य केन्द्र्र सञ्चालनमा ल्याउने अन्तिम तयारीमा छौं ।’ उनले भने, ‘नगरपालिकाको आधारभूत अस्पताल यसै महिनाभित्र सञ्चालनमा आउने गरी निर्माण सम्पन्न भएको र नगरवासीको स्वास्थ्य सेवामा म आफू र मातहतका साथीहरु लागि परेका छौं ।’

वडा अध्यक्ष गोविन्द पराजुलीले चुनावमा आफूहरुले गरेको बाचा अनुसारका कामहरु भइरहेको बताउँदै जनताकै घरदैलोमा सेवा विस्तारको कार्यमा आफू प्रतिवद्ध रहेको बताए ।

सो स्वास्थ्य सेवा केन्द्रबाट बिरामी जाँच, गर्भवती जाँच, पोषण सेवा, परिवार नियोजन सेवा लगायत स्वास्थ्यका आधारभूत सेवाहरु प्रदान गरिने अ.न.मि. शान्ति दनुवारले बताइन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।