काभ्रेमा झुट्टा विवरण पेश गरी दोहोरो नेपाली नगरिकता प्रमाण–पत्र लिने ३ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय, काभ्रेका अनुसार पक्राउ पर्नेहरुमा चौंरीदेउराली गाउँपालिका घर भएका दुई दाज्यु भाइ र धुलिखेलका एकजना रहेका छन् ।
चौरीदेउराली गाउँपालिका स्थित दूती घर भएको व्यक्तिले जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट मिति २०७७।१२।१२ गते नेपाली नागरिकता प्राप्त गरी विदेश जाने प्रलोभनमा परी आफ्नै दाईलाई बुवा उल्लेख गरी किर्ते नक्कली जन्मदर्ता बनाई नावालक भाईलाई काका भनि सनाखत गराई पुनः मिति २०७८।०९।२५ गते झुठ्ठा बिवरण पेश गरी दोहोरो नागरिकता लिएका थिए ।
निजले प्राप्त गरेको पछिल्लो नेपाली नागरिकता जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकको मिति २०७८।११।१३ गतेको निर्णयले रद्ध गरी उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार निजहरु उपर नेपाली नागरिकता ऐन २०६३ बमोजिम झुट्टा विवरण पेश गरी दोहोरो नागरिकता लिएको कसूरमा काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट म्याद थप अनुमती लिई आवश्यक अनुसन्धान भईरहेको छ ।
त्यसैगरी धुलिखेल न.पा. वडा नं.०६ बस्ने बर्ष ३८ को सुभास कुमार श्रेष्ठले मिति २०४९।०९।२९ गते जिल्ला प्रशासन कार्यालय धनुषाबाट नेपाली नागरिकता प्राप्त गरी कतार एयरलाईन्समा जागिर खाई छाडेकोमा पुनः सोही एयरलाईन्समा जागिर खान खोज्दा निजले दिएको आवेदनमा उमेर बढी भएको कारणले उक्त जागिर नपाउने देखिएकाले श्रेष्ठले मिति २०७१।०१।२० गते पुनः जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट बास्तबिक विवरण ढाँटी झुठ्ठा बिवरण पेश गरी दोहोरो नागरिकता लिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकको मिति २०७८।११।१३ गतेको निर्णयले निजले दोश्रो पटक प्राप्त गरेको नेपाली नागरिकता प्रमाण पत्र रद्ध गरी नेपाली नागरिकता ऐन २०६३ बमोजिम झुट्टा विवरण पेश गरी दोहोरो नागरिकता लिएको कसूरमा जिल्ला अदालतबाट म्याद थप अनुमती लिई आवश्यक अनुसन्धान भईरहेको जनाएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















