नेकपा (माओवादी केन्द्र) काभ्रे जिल्ला इन्चार्ज तथा पूर्व उर्जा राज्यमन्त्री सूर्यमान दोङ (लालध्वज)ले मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसिसि)को सवालमा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को कदमप्रति दृढ्तापूर्वक उभिन आफू मातहतका कमिटीलाई अपिल गरेका छन् । सोमबार अध्यक्ष प्रचण्डसँग भेटेर एमसिसि संझौता लगायतका विषयमा छलफल पछि इन्चार्ज लालध्वजले उक्त अपिल गरेका हुन् ।
प्रचण्डसँग आफूले सोमबार भेटेको र एमसिसि तथा मुलुकमा विकसित राष्ट्रिय राजनीतिकोबारेमा छलफल भएको जनाउँदै लालध्वजले प्रचण्डले चालेको कदमको मुक्तकण्ठले प्रशंसा गरेका छन् । ‘आज बिहान हाम्रो पार्टीका श्रद्धेय अध्यक्ष तथा नेपाली क्रान्तिका नायक कमरेड प्रचण्डसँग भेट भयो ।’ लालाध्वजले भने, ‘मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को सन्दर्भमा श्रद्धेय अध्यक्ष कमरेडले चाल्नुभएको कदमको म मुक्तकण्ठले प्रशंसा गर्दछु ।’
साथै उनले ब्याख्यात्मक घोषणा सहित एमसिसि पारित गरेर अध्यक्ष प्रचण्डले मुलुकलाई गम्भिर दुर्घट्नामा फस्नबाट जोगाएको दावी समेत गरे । ‘प्रतिगामी एमालेलाई बालकोटको बार्दलीमै सीमित राखेर, हुबहु एमसीसी पास हुनुपर्छ भन्ने कांग्रेसलाई व्याख्यात्मक घोषणासम्म ल्याएर मुलुकलाई गम्भीर दुर्घट्नामा फस्नबाट जोगाएकोमा श्रद्धेय अध्यक्ष कमरेड प्रचण्ड धन्यवादको पात्र बन्नुभएको छ ।’ उनले भने ।
उनले खरो क्रान्तिकारी देखाउने र आफूलाई राष्ट्रवादको कित्तामा उभ्याउने नाममा पार्टी परित्याग गर्ने सम्मको क्रान्तिकारी हुने होडबाजीमा नलाग्न सबैलाई अनुरोध समेत गरे ‘यो कठिन समयमा हाम्रो पार्टी र नेतृत्वले विवेकपूर्ण ढंगले सुझपूर्ण रुपमा चालिएको कदमलाई इतिहासले उच्च मूल्यांकन गर्ने नै छ ।’ लालध्वजले भने, ‘खरो क्रान्तिकारी देखाउने र आफूलाई राष्ट्रवादको कितामा उभ्याउने नाममा पार्टी परित्याग गर्नेसम्मको क्रान्तिकारी हुने होडबाजीमा लाग्नुभन्दा नेतृत्वको कदमप्रति दृढतापूर्वक उभिन म सम्बद्ध सबैलाई आग्रह गर्दछु ।’
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















