काभ्रेका बनेपामा नेपाली सेना दिवस एवं महाशिवरात्रीको अवसर पारेर सरसफाईको एउटा ‘नाटक मञ्चन’ गरेको छ । अरु बेला सरसफाईको ‘स’ पनि उच्चरण गर्नु नपरे पनि नेपाली सेना काली जंग गण धुलिखेलको आयोजनामा बनेपामा भएको सरसफाई कार्यक्रमा बनेपा नगरपालिकाका जनप्रतिनिधिहरु यो ‘नाटक मञ्चन’का पात्रहरु थिए ।

‘छ्या’ बनेपा निर्माण अभियानमा लागेका नगर प्रमुख लक्ष्मीनरसिं वादे र उप–प्रमुख रेखा दाहाल यो नाटकका मुख्य पात्रहरु थिए । हुन त त्यहाँ सो गणका प्रमुख सेनानी मिलन थापा, प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार, जिल्ला प्रहरी कार्यालय काभ्रेका उपरीक्षक चक्रराज जोशी, सशस्त्र प्रहरी काभ्रेका सशस्त्र प्रहरी उपरीक्षक सुरेन्द्र बुढाथोकी, राष्ट्रिय अनुसन्धान काभ्रेका प्रमुख नगेन्द्र दाहाल लगायतका पनि सहभागी थिए ।

यति हुँदाहुँदै पनि जनप्रतिनिधिहरु योजना निर्माण गर्छन भने कर्मचारीले योजना कार्यान्वयन गराउँदछन् । त्यसैले दोष जिल्ला स्थित सरकारी कार्यालयहरुको हाकिमहरुको होइन । राज्य शक्तिको प्रमुखको रुपमा रहेको बनेपा नगरपालिकाका नगर प्रमुख वादे लगायत जनप्रतिनिधिहरु यो सरसफाईको नाटकमा समावेश हुँदा स्थानीय (दर्शक) ट्वाल्ल परेको देखिन्थे ।

फोहोरहरुको शहर र अव्यवस्थित शहर भनेर चिनिएका बनेपा दुर्गन्धित भएको कैयौं बर्ष भयो । सुन्दर र स्वच्छ शहर निर्माण गर्ने दूरगामी योजना बनाउन नसक्ने अनि कुनै दिवसमा झाडु बोकेर सडककमो पेटिमा निस्किदा श्रमजीविहरुको त अपमान भयो नै झाडुको समेत अपमान भएको भावन सबैलाई भयो ।

‘आज एक दिन झाडु लिएर सरसफाईमा जुटेको रे नगर प्रमुख । दुर्गन्धको शहर भनेर बनेपालाई चिन्नुपर्ने भयो ।’ स्थानीय रामभक्त श्रेष्ठले भने, ‘यो नाटकले सबैलाई गिज्यायो । ‘वाह’ बनेपा होइन, ‘छ्या’ बनेपामा रुपमान्तरण भएको छ । लाज पनि नहुँदो रहेछ ।’

बनेपा पुलबजारदेखि चारदोबाटोसम्मको सडक पेटीमा रहेको फोहोरहरु नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीले सफाइ गरिरहँदा बनेपा नगरपालिकाका प्रमुख वादे, उपप्रमुख दाहाल, वडा अध्यक्षहरु तथा कर्मचारीहरु झाडु हातमा लिएर फोटो खिचाउनमै व्यस्त थिए । कुनै छापा पत्रिका वा अनलाइन पत्रिकाको लागि फोटो पोज दिइरहेका थिए ।

सेना दिवसको अवसर पारेर काली जंग गणले हरेक वर्ष रचनात्मक क्रियाकलाप गर्दै आएकोमा यस वर्ष भने बनेपा नगरपालिकामा सरसफाई गरी सेना दिवस २०७८ मनाइएको प्रमुख सेनानी थापाले जानकारी दिए ।

सफा र स्वच्छ शहरको योजना मानसपटलमै नभएका जनप्रतिनिधिहरु देखि स्थानीय वाक्कदिक्क नै बनेका छन् । ‘यसरी विभिन्न दिवसको अवसरमा सरसफाइ कार्यक्रमको आयोजना गर्दा आफूहरुलाई गिज्याएको अनुभूति समेत गर्न नसक्ने कस्तो खालको नगर प्रमुख हो ?’ स्थानीय सुरज वैद्यले भने, ‘दिक्का वाक्का नै भइसक्यौं हामी त । सरसफाई तिर त ध्यानै छैन ।’

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।