अशाेक बुद्ध लामा
काभ्रे जिल्लाको रोशी गाउँपालिका वडा नं. ११ देउराली डाडाँमा बुद्ध प्रतिमा र बौद्ध स्तुपा (म्हाने छ्योर्ते) को शिलान्यास भएको छ । गाउँपालिका अध्यक्ष डिबी लामाले बुधबार एक कार्यक्रमका बीच शिलान्यास गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष लामाले रोशीवासीको धार्मिक आस्थाका रुपमा निर्माण हुन लागिरहेको बुद्ध प्रतिमा र बौद्ध स्तुपाको छिटो भन्दा छिटो निर्माण गर्न निर्माण पक्षलाई आग्रह गर्दै यसका निम्ति पालिकाको तर्फबाट निभाउनु पर्ने भूमिकाको निम्ति एक रति पनि पछि नहट्ने प्रतिवद्धता व्यक्त गरेका थिए । ‘रोशी गाउँपालिकाले सबै धर्म, जाती, भाषा, वर्गलाई सम्मान गर्दै रोशीमा भएका मठ मन्दिर, बौद्ध स्तुपाहरु सबैलाई साझा धार्मिक थलोको रुपमा लिइदिनको निम्ति आग्रह गर्दछु ।’ लामाले भने, ‘हामीले मान्ने जुनसुकै धर्म, जुन सुकै देवी देवता भएता पनि साक्षात भगवान भनेको हामीलाई जन्म दिने आमाबाबु हुन्, हामीले घरको भगवानलाई पनि उच्च सम्मानका साथ व्यवहार गर्नुपर्छ ।’
त्यसैगरी उपाध्यक्ष लक्ष्मी कुमारी वर्तौलाले बौद्ध स्तुपा रोशीको निर्माणको निम्ति सहयोग प्रदान गर्ने शान्ति जन आदर्श सेवा केन्द्र तथा समाज सेवी शंखबुद्ध लामालाई विशेष धन्यवाद व्यक्त गर्दै निर्धारित समयमा निर्माणको निम्ति शुभकामना व्यक्त गरेकि थिइन् ।
कार्यक्रममा वडा अध्यक्ष मिलन लामाले बौद्ध धर्ममा आस्था राख्ने वडाबासीहरुको आस्थाको केन्द्रको रुपमा बुद्ध प्रतिमा र स्तुपा निर्माण गर्न लागेको बताउँदै यसले आन्तरिक तथा बाह्य पर्यटन विकासमा समेत टेवा पुग्ने बताए ।
कार्यक्रममा उक्त स्तुपा निर्माणको निम्ति गाउँपालिका अध्यक्ष लामाले व्यक्तिगत रुपमा आफ्नो तर्फबाट ३४ हजार ५ सय रुपैयाँ सहयोग गरेका थिए भने वडा अध्यक्ष मिलन लामाले पनि ब्यक्तिगत रुपमा आफ्नो तर्फबाट २२ हजार रुपैयाँ सहयोग गरेका थिए ।
सोही अवसरमा भूमि पूजा (सालाङ) कार्यक्रम समेत भएको थियो । शान्ति जन आदर्श सेवा केन्द्रको आयोजना, रोशी गाउँपालिकाको सहयोग एवं निर्माण उपभोक्ता समन्वय समितिको व्यवस्थापनमा कार्यक्रम भएको थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















