काभ्रे जिल्लाको पाँचखाल नगरपालिकामा शहरी विकास योजना सञ्चालन गर्न ५० करोड बजेटको व्यवस्था भएको छ । वागमती प्रदेशसभा सदस्य सांसद लक्ष्मण लम्सालको पहलमा उक्त बजेटको व्यवस्था भएको हो ।

सहरी विकास मन्त्री राम कुमारी झाँक्रीको सक्रियतामा नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य एवं बागमती प्रदेश समिति सचिव समेत रहेका सांसद लम्साले ५० करोडको सहरी विकास कार्यक्रम पाँचखाल नगरपालिकालाई उपलब्ध गराएका छन् ।

सांसद लम्सालले निर्वाचित भएदेखि नै पाँचखाल नगरपालिकाको विकास निर्माणलाई पहिलो प्राथमिकता राख्दै आएका छन् । पाँचखाल नगरपालिकामा सहरी विकास मन्त्रालयका प्रतिनिधि, नगर प्रमुख, विभिन्न दलका प्रतिनिधि सहित बैठक बसेर ५० करोडको सहरी विकास आयोजना कार्यन्वयन गर्ने निर्णय गरिएको सांसद लम्सालले बताए ।

यस विकास आयोजनाले पाँचखालको विकास र सम्बृद्धिमा थप टेवा पुग्ने पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले बताए ।सहरी विकास कार्यक्रमको लगानी सम्बन्धि बैठक तथा सम्झौता भएको बताउँदै खरेलले सहरी पूर्वाधार निर्माणको लागि यो वर्ष ५० करोडको कार्यक्रम छनौटमा पाँचखाल नगरपालिकालाई छनौट गरिदिएकोमा वर्तमान सरकार तथा सम्बन्धित निकायहरुलाई पाँचखाल नगरपालिकाकोतर्फबाट धन्यवाद व्यक्त गरे ।

यस अघि पनि आफ्नो निर्वाचन क्षेत्रमा सांसद लम्सालले दर्जनौं योजनाहरु पारेका थिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।