काभ्रेको रोशी गाउँपालिकाका अध्यक्ष एवं तामाङ चलचित्रका अभिनेता डिबी लामाले समृद्ध समाज निर्माणमा कला क्षेत्रले महत्वपूर्ण भूमिका निभउँदै आएको बताएका छन् । तामाङ चलचित्रको बजार व्यवस्थापन तथा गुणस्तरीय तामाङ चलचित्र सम्बन्धि तीन दिने कार्यशाला गोष्ठीको समापन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लामाले उक्त कुरा बताएका हुन् ।

कार्यक्रमको प्रमुख अतिथि समेत रहेको लामाले कला विनाको समाज अधुरो रहेको बताउँदै कला र कलाकारहरुको सम्मान गर्न आवश्यक रहेको बताए । ‘समाजमा रहेका विकृति, विसंगति हटाइ सचेत र समृद्ध समाजको निर्माणका निम्ति कला क्षेत्रले महत्वपूर्ण भूमिका निभाएको छ ।’ अध्यक्ष लामाले भने, ‘कलाकारिता जति महत्वपूर्ण छ त्यतिकै मात्रामा अनुशासित हुन जरुरी छ । संस्थाले कुशल, असल कलाकार स्थापित गर्न र जातिको मौलिकता जगेर्न गर्ने प्रमुख दायित्व छ ।’

उनले तामाङ चलचित्रको विकास, सम्बद्र्धनको लागि गाउँपालिका सधैं तत्पर रहेको बताए ।

कार्यक्रममा तामाङ चलचित्रका नायक तथा तामाङ चलचित्र संघ नेपालको अध्यक्ष कुमार मोक्तानले तामाङ चलचित्र जगतमा अतुलनिय योगदान भएका स्वर्गीय कलाकार जयनन्द लामालाई स्मरण गर्दै आगामी दिनमा संघले ‘जयनन्द अवार्ड’को स्थापना गर्ने बताए । मोक्तानले चलचित्र जगतको कलाकार र कलाकारको कलालाई जिवन्त राख्न संघले यस्तो योजना राखेको बताए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।