काभ्रे जिल्लाको व्यापारिक शहरको रुपमा स्थापित भएको बनेपा बजारमा ट्राफिक व्यवस्थापन प्रति नगरपालिकाले पूरै बेवास्त गर्दै आएको छ । एकातिर फोहरी शहरको रुपमा विकास भइरहेको छ भने अर्कोतिर ट्राफिक अव्यवस्थापनले अस्तब्यस्त नै बनेको छ ।

बजारको मुख्य क्षेत्रमै नगरपालिकाको कार्यालय रहेको छ, तर नगर प्रमुख लक्ष्मीनरसिं वादे आँखा चिम्लेर कार्यालय छिर्ने गरेका छन् भने बाहिर निस्कीदा पनि आँखा चिम्लेरै बाहिरीने गरेको छन् । नगर प्रमुख वादेले नत शहरको चोक चोकमा रहेको फोहोर देखेकाछन्, नत फूटपथ अतिक्रमण गरेर पसलहरु राखेको नै देखेकाछन् ।

बजार दुर्गन्धित हुँदा समेत बेखबर छन् वादे । विकासको नाम कुन चराको नाम हो थाहा छैन उनलाई । जनताको आवाज त झन् उनको कानले सुन्दैनन् । त्यसैले सिंगो काभ्रे जिल्लाको व्यापारिक केन्द्रको रुपमा रहेको बनेपाका नगर प्रमुख वादेले मतलब नराखे पनि जिल्ला ट्राफिक कार्यालय काभ्रेले कहिलेकाही ध्यान दिन खोजेको देखिन्छ, तर मौसम–मौसममा मात्र देखाएको यस्तो सक्रियताले पनि कुनै अर्थ राखेको देखिदैन ।

तर पनि जिल्ला ट्राफिक कार्यालय, काभ्रेले पार्किङ व्यवस्थापन गर्ने प्रयत्न गरेको छ । बुधबार बनेपा बजार क्षेत्रको ट्राफिक व्यवस्थापन गर्नको लागि जनप्रतिनिधि, स्थानीय बासिन्दा, ब्यापारी, यातायात व्यवसायी तथा सरोकारवाला व्यक्तिहरुसँगको बैठक बसी केही प्रयत्न गर्न खोजिएको छ । ट्राफिक कार्यालयका अनुसार अबदेखि बनेपाको चारदोबाटोदेखि गणेशस्थानसम्म (शिर मेमोरियल अस्पताल जाने बाटो) पार्किङ निषेध गरिएको छ । यो निषेध गर्ने निर्णय कहिलेसम्म लागुहुन्छ, जिल्ला ट्राफिक कार्यालय र बनेपा नगरपालिकाको हातमै छ ।

त्यसैगरी बैठकले १० टन भन्दा माथिका ठूला सवारी साधन बिहान ७ः०० बजे देखि साझ १९ः०० बजे सम्म प्रबेश निषेध र करूणा मार्गमा ठूला सवारी साधनलाई एकतर्फी संचालन गर्ने निर्णय भएको छ । जिल्ला ट्राफिक कार्यालय, काभ्रेले सो निर्णयको कार्यान्वयन गरी सहयोग गरिदिनहुन सम्पूर्णमा अनुरोध गरिए पनि सहयोग चाहिं मिल्ने हो कि होइन, हेर्न बाँकी छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।