काभ्रे जिल्लाको महाभारत गाउँपालिकामा पिचको प्रक्रियामा रहेको पिन्थली–रजाबास–चारकिल्ला–तीनखुट्टे–देवीटार–घर्तिछाप–गोकुले सडक आयोजनाको दोस्रो खण्ड अन्तर्गत पर्ने तीनखुट्टे–खोलाघारी–देवीटार सडक खण्डको कार्य प्रगति प्रति प्रदेशका ३ सचिवले असन्तुष्टि जाहेर गरेका छन् । सोमबार सो क्षेत्रका अनुगमनका लागि पुगेको बागमती प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका सचिव यमलाल भुसाल, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव धनीराम शर्मा, भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव अशोक कुमार शाहले संयुक्त रुपमा सडकको अनुगमन गर्ने क्रमा असन्तुष्टि जाहेर गरेका हुन् ।
महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले निर्माण कम्पनीले तोकिएको समय सकिन लाग्दासमेत कामको गति सुस्ता भएपछि प्रदेशका विभिन्न मन्त्रालयका सचिवहरु ल्याएर सो सडकको अनुगमन गराएका थिए ।
निर्माण कम्पनी (ठेकेदार)ले मापदण्ड अनुसार काम गरेको नदेखिएको र ढिलाई गरेको भन्दै भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव शाहले कारबाही गर्ने बताए । उनले तारजाली लगाउने देखि लिएर सडक चौडा गर्ने क्रममा तोकिएको मापदण्ड पूरा नगरेको पाइएको शाहले बताए ।
‘तारजाली पनि मापदण्ड विपरित लगाएको पाइएको छ । त्यसमाथि पनि जग बिना नै तार जाली लगाएको देखियो । निर्माण कार्य नसकिदै भत्किसेको छ ।’ उनले भने, ‘हामी मापदण्ड विपरित हालेको तारजाली बापतको रकम रोक्नेछौं । जति राम्रो काम भएको त्यही अनुरुप मात्रै भुक्तानी हुनेछ ।’
गाउँपालिकाको पिन्थली–रजाबास–चारकिल्ला–तीनखुट्टे–देवीटार–घर्तिछाप–गोकुले सडक आयोजनाको दोस्रो खण्ड अन्तर्गत पर्ने तीनखुट्टे–खोलाघारी–देवीटार सडक खण्डको सडकको कालोपत्रेको भौतिक प्रगति २० प्रतिशत पनि हुन सकेको छैन । जबकी निर्माणको सम्झौता अवधि यही असारमा सकिदैछ ।
गाउँपालिकाका अध्यक्ष जिम्बाले तीनखुट्टे–खोलाघारी–देवीटार सडक खण्डको काम सम्पन्न भएपछि गाउँपालिकाको केन्द्रमा सहज हुने बताए । उनका अनुसार ८ किलोमिटर सडक कालोपत्रे हुन लागेको भएपनि अझै कालेपत्रेका काम सुरु हुन सकेको छैन ।
सडकका लागि २०७९ साल असार ३० गते सम्ममा सडक स्तरोन्नति लगायतका संरचनाहरु तथा सडक कालोपत्रे सक्ने गरी श्रेष्ठ÷साक्षम जे.भी. सामाखुसी, काठमाडौँले ४९ करोडको बजेट भएपनि २५ करोड ८२ लाख १० हजार ३ सय १६ रुपैँया लागतमा सम्झौता गरेको थियो ।
२०७७ असोज २० मा बागमती प्रदेशका पुर्व भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयाँलले कालोपत्रेका लागि उक्त सडकको शिलान्यास गरेको थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















