काठमाडौं । तामाङ समुदायको राष्ट्रिय साझा संस्था नेपाल तामाङ घेदुङको नवौँ संघीय महाधिवेशनको सम्पूर्ण तयारी पुरा भएको बताइएको छ।

कोरोना महामारीका कारण दुई वर्षदेखि रोकिएको महाधिवेशनको सम्पूर्ण तयारी पुरा भएको घेदुङको केन्द्रीय कार्यालय चुच्चेपार्टीमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष मोहन गोले तामाङले जानकारी दिए। पूर्व अध्यक्ष एवं सल्लाहकार परशुराम तामाङको प्रमुख अतिथिमा हुने महाधिवेशन धुम्बराहीस्थित एसआर ब्याङ्क्वेटमा आइतवार दिउँसो १२ बजेबाट शुरु हुनेछ । उद्घाटन कार्यक्रममा तामाङ सांस्कृतिसम्बन्धी गीतसंगीत तथा झाँकी प्रस्तुत हुने उनी बताउँछन् ।

यसपटकको उद्घाटनमा ताम्बा, बोम्पो, लामादेखि, नेपाल संस्कृति घेदुङको विशेष प्रस्तुति, तामाङ कलाकार संघ, राष्ट्रिय ख्याती प्राप्त कलाकारहरुको प्रस्तुति, म्हेन्दोमाया नृत्य रहने अध्यक्ष गोलेले बताए । उद्घाटन सत्रमै तामाङ भाषाको शिक्षा लागू भएका गाउँपालिका अध्यक्ष लगायतलाई सम्मान गर्ने कार्यक्रम रहेको उनले बताए । लगत्तै बन्द सत्रबाट सांगठानिक, आर्थिक, विधान संशोधनलाई सामान्य छलफल गरेर औपचारिकरुपमा पारित गराउने विधि अपनाउने घेदुङको तयारी रहेको छ ।

महाधिवेशनका लागि अहिले जिल्लाबाट प्रतिनिधिहरु आउन थालेको घेदुङका महासचिव बाबु घिसिङले जानकारी दिए । यसवर्ष ८ सयको संख्यामा प्रतिनिधि हुनेछ । तीनै तहबाट प्रतिनिधि आएको हुनाले प्रतिनिधि र पर्यवेक्षक धेरै भएको अध्यक्ष गोलेले बताए । यसपटक घेदुङले तामाङ भाषा, संस्कृतिको प्रवर्द्धनसहित ताम्सालिङ प्राप्तिका लागि हाम्रो आन्दोलन, दीर्घकालीन संघर्षको योजनासहित जुझारु नेतृत्व चयनका लागि नवौं महाधिवेशन तय गरेको छ ।

चितवन घोषणापत्र जारी गर्दै २०७२ चैत १ गते निर्वाचित घेदुङको कार्यसमिति कोरोना महामारीका कारण पटकपटक महाधिवेशनको समय सर्दै आएकोमा यसपटक भने तोकिएकै समयमा महाधिवेशन हुने अध्यक्षले गोलेले बताए । घेदुङको निर्वाचित कार्यसमितिकोमो अवधि ४ वर्षको हुने नियम रहेको छ । घेदुङको अधिवेशन तीन दिनसम्म चल्नेछ ।

 

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।