काभ्रे जिल्लाको विकट क्षेत्रको रुपमा रहेको महाभारत गाउँपालिका र महाभारत गाउँपालिकामा जिल्लाको कार्यालय प्रमुखहरु अनुगमन भ्रमणको क्रममा पुगेका छन् । प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको नेतृत्वमा जिल्ला स्थित विभिन्न कार्यालयका प्रमुखहरु जनताको गुनासो, शान्तिसुरक्षाको अवस्था बुझ्ना सो क्षेत्रमा पुगेका हुन् ।

एकै साथ जिल्ला स्थित सरकारी कार्यालयका प्रमुखहरु सो क्षेत्रमा पुगेको यो पहिलोपटक हो । सो भ्रमणमा कालिजंग गण धुलिखेलका प्रमुख सेनानी मिलन थापा, जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका कार्यालय प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशी, सशस्त्र प्रहरी बल १५ नं. गण पाँचखाल स.प्र.उ. सुरेन्द्र बुढाथोकी, राष्ट्रिय अनुसन्धान विभाग काभ्रेपलाञ्चोकका प्रमुख अनुसन्धान अधिकृत नगेन्द्र दाहाल र स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख डा. पुरुषोत्तम सेढाई पुगेका थिए । साथमा महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा समेत पुगेका थिए ।

जिल्ला प्रशासन कार्यालय काभ्रेका प्रमुख जिल्ला अधिकारी पाण्डेका अनुसार महाभारत र खानीखोला गाउँपालिकाको स्थलगत भ्रमण गरी उक्त डाँडापारी क्षेत्रमा बसोवास गर्ने जनसमुदायको प्रशासन सम्बन्धि गुनासो, सुझाब र प्रतिकृयाको बारेमा अन्तरकृया गर्न सो भ्रमण तय भएको हो । सोही क्रममा राज्यबाट जनताको जिउधनको सुरक्षार्थ अहोरात्र परिचालन हुने प्रहरी र प्रहरी ईकाईहरुको समेत निरीक्षण गर्दै आसन्न निर्वाचन केन्द्रित गतिविधिहरु बुझ्न र सो भुगोलको शान्ति सुरक्षामा प्रत्येक्ष सरोकार राख्ने स्थानिय तह, समाजका लब्ध प्रतिष्ठित व्यक्तित्वहरु, नागरीक अगुवा, राजनितिक दल, पत्रकार, बुद्धिजीवि, विभिन्न पेशाकर्मी संघ संगठनका पदाधिकारीहरु लगाएत आम नागरीकहरुसँग शान्ति सुरक्षाको विषयमा अन्तर्क्रिया गरेको थियो ।

सो क्रममा प्रमुख जिल्ला अधिकारी पाण्डेले मातहत प्रहरी ईकाइ र उक्त ईकाइहरुमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरुलाई निर्देशन सम्बोधन गर्दै जिल्लाको अती विकट मानिएको भुगोलमा स्थानिय नागरिकहरुसँग सादाचारी पुर्ण व्यबहार गरी उच्च मनोबलका साथ आफ्नो जिम्मेवारीमा कर्तव्यनिष्ट भई कार्य सम्पादन गर्न, ग्रामीण भेगमा लुकेका अपराधहरु जस्तै लैङ्गिक हिंसा, जातिय छुवाछुत लगाएतका विभिन्न सामाजिक कुःप्रथाहरुलाई नजिकबाट नियालेर त्यस्ता घटनाका पीडित पक्षलाई कानूनी उपचारमा तदारुकता देखाउने, अपराध अनुसन्धानको सिलसिलामा कानूनी अधिकार प्रयोग गर्न किञ्चित नडगमगाउने, राज्यबाट निर्दिष्ट कानुनको अधिनमा रही निष्पक्ष एवं पारदर्शी रुपमा जनमैत्री सेवा प्रदान गर्ने, प्रहरी कुनै पनि प्रकारको दबाब, प्रभाव, करकाप एवं प्रलोभनमा नपरी ईमान्दारिता र निष्ठा पुर्वक आफ्नो जिम्मेवारी एवं कर्तव्य निर्वाह गर्ने, अबैधानिक र गैह्र कानूनी क्रियाकलापमा प्रहरी कदापी संलग्न नहुन निर्देशन दिएकी थिइन् ।

प्रहरी ईकाइहरुको वस्तुस्थितिको बारेमा समेत साक्षतकार भई महाभारत गाँउपालिका वडा नं. ५ स्थित ग्रामोन्नती मा.वि.मा एकिकृत जनस्वास्थ्य अभियान समेत संचालन गरी उक्त क्षेत्रमा रहेको महिला दिदीबहिनीहरुसँग सम्बन्धित जनस्वास्थ्यका विषयमा महिलामा हुन सक्ने अब्सट्रिक फिस्टुला, पाठेघर खस्ने समस्या लगाएतका प्रजनन् स्वास्थ्य रुग्णता सम्बन्धि वृहत निःशुल्क स्वास्थ्य जाँच शिविर आयोजना गरिएको थियो । सो शिविरबाट ६५ जना स्थानिय महिला दीदिवहिनिहरु लाभान्वित भएका थिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।