काभ्रे जिल्लाको चौंरीदेउराली गाउँपालिकाको ९ औं गाउँसभा सम्पन्न भएको छ । जनप्रतिनिधिहरुको ५ वर्षे कार्यकालको अन्तिम गाउँसभाको रुपमा सोमबार गाउँपालिकाको सभाहलमा सम्पन्न भएको हो ।
गाउँसभामा गाउँपालिका अध्यक्ष दिननाथ गौतम, उपाध्यक्ष ताराकुमारी चौंलागाईं र सबै वडाका वडा अध्यक्षहरुले ५ वर्षे कार्यकालको समिक्षा गरेका थिए । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको कार्यन्वयनको क्रममा ०७४ सालमा सम्पन्न भएको निर्वाचनको क्रममा जनतासँग गरेको प्रतिबद्धताहरु आफूहरुले एक–एक गरी पूरा गरेको जनप्रतिनिधिहरुले दावी गरे ।
कार्यकालको अन्तिम गाउँसभा भएकोले सबै वडाका वडा अध्यक्षहरु, गाउँपालिका अध्यक्ष र उपाध्यक्षले ५ वर्षकै समिक्षा गरेका थिए । जनता सामू के–के प्रतिबद्धता पूरा गरेका थिए र के के पूरा गरियो भन्ने विषयमा समिक्षा गरेका थिए ।
गाउँसभामा सबैले भावुक भएर आ–आफ्नो समिक्षात्मक मन्तव्य राख्दै गर्दा हलमा सुनसान छाएको थियो । आँखा रसाउँदै मन्तव्य राखेपछि सबैको मन छोएको थियो ।
यसरी गरे समिक्षा
जनतासँग गरेको ९० प्रतिशत प्रतिबद्धता पूरा –अध्यक्ष गौतम
गाउँपालिका अध्यक्ष गौतमले निर्वाचनमा होम्दै गर्दा आफ्नो पार्टीले जारी गरेको प्रतिबद्धता पत्रबाट आफ्नो मन्तव्य शुरु गरेका थिए । जनताको तमाम समस्याहरु समाधान गर्ने प्रतिबद्धता जाहेर गरेको बताउँदै गौतमले जनतासँग गरेको ९० प्रतिशत प्रतिबद्धताहरु पूरा भएको जानकारी दिए ।

‘हामीले निर्वाचनमा जनतासँग मत माग्दै गर्दा एउटा प्रतिबद्धता पत्र जारी गरेका थियौं । हामीले गर्वका साथ भन्नुपर्छ कि ९० प्रतिशत प्रतिबद्धताहरु पूरा भएको छ ।’ अध्यक्ष गौतमले भने, ‘जनताको आधारभूत आवश्यकता पूरा गर्न सकेका छौं । सबै क्षेत्रको पूर्वाधार निर्माण गर्न हामी सफल भएका छौं ।’
गाउँपालिकाले लिएको ‘एक घर एकधारा’ नीति सम्पन्न भएको, हरेक शैक्षिक संस्थामा अत्याधुनिक भवनहरु निर्माण भएको, जिल्लामै सबैभन्दा लामो सडक पिच भएको, जिल्ला मै पहिलो १५ शैयाको अस्पताल निर्माण भएको, हरेक टोल–टोलमा सडक पुगेको र बाह्रै महिना यातायात सूचारु भएको, पर्यटन विकासका लागि युद्ध पदमार्ग देखि भ्यूटावर निर्माण, विभिन्न धार्मिक स्थलहरुको विकास र सम्बद्र्धनका कार्यहरु भएको, गाउँपालिका स्तरीय खेलमैदान निर्माण भएको, कृषि र पशुपालनमा उल्लेख्य कार्यहरु भएको गाउँपालिका अध्यक्ष गौतमले बताए । त्यसैगरी शिक्षालाई सिप र सिपलाई रोजगारसँग जोड्नका लागि गाउँपालिकाले प्रविधिक शिक्षामा जोड दिएको उनको भनाई थियो ।
‘हामीले शिक्षालाई सिपसँग र सिपलाई रोजगारसँग जोड्नका लागि प्राविधि शिक्षामा जोड दियौं ।’ गौतमले भने, ‘४ वटा विद्यालयमा विभिन्न प्राविधिक शिक्षा सञ्चालनमा छ । विद्यार्थीहरुलाई प्राविधिक शिक्षातिर आकर्षित गर्नका लागि हरेक शुल्कमा ५० प्रतिशत छूट समेत दिने गरेका छौं ।’
संघ, प्रदेश र गाउँपालिकाको आयोजनाहरुको बजेट कहिल्यैपनि फ्रिज नपठाएको उनले बताए । बजेट कार्यान्वयनमा पनि गाउँपालिका उत्कृष्ट रहेको उनको दावी थियो ।
जनताको घरदैलोमै पुगेर न्याय दियौं –उपाध्यक्ष चौंलागाईं
त्यसैगरी गाउँपालिकाका उपाध्यक्ष ताराकुमारी चौलागाईंले ५ वर्षभित्रमा आफ्नो पार्टीले जारी गरेको प्रतिबद्धता पत्र, जनताको आवश्यकता र माग अनुसार विकास निर्माणको योजनाहरु बनेको र कार्यन्वयन गरेको बताए ।
आफूहरुले निर्वाचन जितेर आउनेक्रममा ६ जना कर्मचारीबाट सेवा प्रवाह गर्न शुरु गरेको स्मरण गर्दै उपाध्यक्ष चौंलगाईंले विकास निर्माणमा कर्मचारी र जनप्रतिनिधिको एकता चौंरीदेउरालीमा राम्रो भएको बताए ।
आफूलाई संविधानले न्यायिक समितिको जिम्मा दिएको बताउँदै जनताको घरदैलोमै पुगेर समस्या समाधान गरेको बताए । ‘जनताको घरदैलोमै पुगेर हामीलाई दिएको अधिकार क्षेत्रभित्र रहेर जनताको समस्या समाधान गरेका छौं ।’ उनले भने, ‘हामीले एउटा पनि मुद्दा अदालतमा वा अन्य निकायमा पठाउने काम गरेनौं । यहीं समाधान गर्ने गरेका छौं ।’
समाजमा महिलाले केही गर्न सक्दैन भन्ने कुराको भ्रम आफू उपाध्यक्ष भएपछि तोडेको बताए । ‘कतिपय महिला जनप्रतिनिधिको श्रीमानले हेर्ने दृस्टिकोण नराम्रो देखेको छु । श्रीमानको दवाब, रवाब र आशंकामा बस्न बाध्य भएको महिला जनप्रतिनिधिहरु धेरै देखें । तर म माथि त्यस्तो भएन । जनताको घरदैलोमा म निरन्तर खटें । श्रीमान र अन्य परिवारका सदस्यहरुबाट सहयोग पाएँ ।’ उनले भने, ‘अरु स्थानीय तहहरुमा अध्यक्ष र उपाध्यक्ष नमिलेको देखेको छु । अध्यक्षले उपाध्यक्षलाई हेपेको घट्नाहरु बाहिर नै आएको छ । तर हाम्रो गाउँपालिकामा त्यस्तो कहिल्यै पनि भएन । मलाई अध्यक्षज्यूबाट सहयोग नै भयो ।’
आफूले गाउँपालिकाले दिएको सेवा सुबिधा बाहेक एक रुपियाँ नलिएको र जनताको विस्वास जित्न सफल भएको बताए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















