काभ्रेको चौंरीदेउराली गाउँपालिका वडा नं. ८ विर्तादेउरालीमा रहेको श्री भूमेस्थान माविको ६१ औं वार्षिकोत्सब शनिबार भव्यताका साथ सम्पन्न भएको छ । सो अवसरमा कार्यक्रमको प्रमुख अतिथि समेत रहेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले विद्यालयको नव निर्मित चारकोठे तथा आठ कोठे गरी २ वटा भवनको उद्घाटन समेत गरेक थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले विद्यालय सुधारमा जोड दिदै शिक्षा र स्वास्थ्यलाई राज्यले प्राथमिकतामा राख्नुपर्ने बताए ।

यो वर्ष चौंरीदेउरालीको लागि उद्घाटनको वर्ष –बमध्व्ज
कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य सांसद गंगाबहादुर तामाङ (बमध्वज)ले चौंरीदेउरालीको लागि यो वर्ष उद्घाटनको वर्ष रहेको बताए । आफूहरुले पहिला नै घोषणा गरे अनुरुप नै शुरुमा शिलान्यासको वर्ष र यो वर्ष उद्घाटनको वर्षको रुपमा अगाडि बढेकोमा खुशी समेत व्यक्त गरे । २०७४ सालपछि चौरीदेउरालीको मुहार फेरिएको बमध्वजले बताए ।

व्यबहारीक शिक्षामा जोड दिएका छौं –अध्यक्ष गौतम
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष दिननाथ गौतमले आफूहरुले व्यबहारीक शिक्षामा जोड दिएको बताए । रोजगारको सिर्जना गर्नका लागि व्यबहारीक र वैज्ञानिक शिक्षाले मात्र सम्भव रहेको बताए ।

‘हामीले बैज्ञानिक र व्यबहारिक शिक्षामा जोड दिएका छौं । जो सिप र रोजगार मुखी शिक्षा आवश्यक छ । त्यसैले प्राबिधिक शिक्षामा जोड दिएका छौं ।’ गौतमले भने, ‘हाल चौंरीदेउरालीमा ४ वटा प्राबिधिक शिक्षालय सञ्चालनमा छ ।’

प्राविधिक शिक्षालय सञ्चालनमा रहेता पनि विद्यार्थीको अभाव रहेको बताउँदै उनले गाउँपालिका भरि ६१ बिद्यालय रहेकोमा विद्यार्थी अभावका कारण ३९ वटामा झरेको बताए ।

उनले एक अर्को प्रसंगमा मुलुकमा दोहोरो शिक्षा प्रणाली रहेको यसको अन्त्य गर्न शिक्षामन्त्रीलाई आग्रह गरे । ‘मुलुकमा दोहोरो शैक्षिक प्रणालीको अन्त्य गर्नुपर्छ । धनीको लागि छुट्टै, गरिबका लागि छुट्टै छ शिक्षा यहाँ । हामीले यसको विरुद्धमा लडेका थियौं ।’ उनले भने, ‘सामुदायिक विद्यालय सुधारको लागि नीजि विद्यालयहरु बन्द गर्न आवश्यक छ । सरकारले बरु ती नीजि विद्यालय किनेर भएपनि यो दोहोरा प्रणालीको अन्त्य गर्नैपर्छ ।’

कार्यक्रममा वडा अध्यक्ष धन लामाले चौरीदेउराली कै जेठो बिद्यालयको रुपम रहेको बिद्यालय सो विद्यालयमा भौतिक संरचनाको निक्कै अभाव रहेको बताउँदै शैक्षिक सुधारका कार्यहरू पनि पूर्वाधार नहुँदा अगाडि बढाउन नसकेको बताए ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक चन्द्रमान लामाले विद्यालयको प्रगति र समस्या राखेका थिए । विद्यालयको समस्या समाधान गर्न मन्त्री पौडेलसँग उनले अनुरोध समेत गरे । उनले विद्यालय भवन अझै नपुगेको कुरा राख्दै खेलकुद मैदान र घेराबारको लागि बजेटका माग समेत गरे ।

कार्यक्रममा पूर्व विद्यार्थी तथा माओवादी केन्द्र काठमाडौ–काभ्रे सम्पर्क समन्वय समितिको सदस्य मुकुन्द गौतमले वडा भरिकै विद्यार्थीहरुलाई शैक्षिक सामाग्री बितरण गरेका थिए ।

पिटिए अध्यक्ष राम घिसिले स्वागत गरेको सो कार्यक्रमको सभापतित्व विव्यस अध्यक्ष सुनबहादुर तामाङले गरेका थिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।