काभ्रे जिल्लाको चौंरीदेउराली गाउँपालिकाका प्रारम्भिक बालबिकास केन्द्र (इसिडी)का शिक्षकहरुलाई ७ दिने क्षमता विकास तालिम दिएको छ । फागुन २५ गतेदेखि चैत्र १ (आज) गतेसम्म चलेको उक्त तालिम चौंरीदेउराली गाउँपालिकाको व्यवस्थापन र उज्यालो नेपाल नामक संस्थाको आयोजनामा भएको हो ।
तालिम समापन कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष दिननाथ गौतमले प्रारम्भिक बालबिकास केन्द्र बालबालिकाको ज्ञान आर्जन गर्ने पहिलो खुड्किलो रहेको बताउँदै बालबालिकाको भविष्य बाल शिक्षकहरुको हातमा रहेको बताए । न्यूनतम तलबमा पनि बालबालिकाको लागि समर्पित भएकोमा शिक्षकहरु को उच्च प्रशंसा गर्दै समस्या समाधानको लागि आफूले सक्दो प्रयत्न गर्ने बताए ।
‘तपाईंहरुको गुनासो र समस्या मैले बुझेको छु । न्यूनतम तलबमा पनि तपाईंहरु अरु शिक्षक सरह खटिरहनु भएको छ । गाउँपालिकाको तर्फबाट उच्च प्रशंसा गर्न चाहन्छु ।’ गाउँपालिका अध्यक्ष गौतमले भने, ‘गाउँपालिकाको आन्तरिक स्रोत निक्कै कम छ । छँदैछैन भनेपनि हुन्छ । संघीय सरकारले तपाईंहरुको पारिश्रमिक बढाउन केही जिम्मा स्थानीय तहलाई दियो । आन्तरिक स्रोत हुनेले कार्यन्वयन गरे तर हामीले सकेनौं । पारिश्रमिकमा केही पनि नभएको भन्ने चाहिं होइन, सकेको गरेका छौं ।’ आगामी दिनमा शिक्षामा गुणस्तर ल्याउन प्रारम्भिक बालबिकास केन्द्रलाई पहिलो प्राथमिकतामा राख्ने गौतमले प्रतिबद्धता समेत जाहेर गरे । तालिममा सिकेका कुरा विद्यालयमा गएर प्रयोग गर्न शिक्षकहरुलाई उनले अनुरोध समेत गरे ।
त्यसैगरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महानदास लामाले गाउँपालिकामै पहिलो पटक आयोजना गरेको यस्तो प्रकारको तालिम आगामी दिनमा गाउँपालिकाल सञ्चालन गर्ने र निरन्तरता दिने प्रतिबद्धता जाहेर गरे ।
कार्यक्रममा उज्यालो नेपालका अध्यक्ष प्रभाकार महर्जनले आगामी दिनहरुमा पनि यस गाउँपालिकामा कार्यक्रमहरु निरन्तर गर्ने बताए । आफूहरुले बालबालिकाको लागि काम गर्दै आएकोले बालबालिका प्रति गम्भिर रहेको महर्जनले बताए ।
प्रभा माविका प्रधानाध्यापक क्षितिज सुब्बाले शिक्षकले आफ्नो भाषा बालबालिकालाई लत्याउने होइन कि बालबालिकाको भाषा शिक्षकहरुले जान्न आबश्यक रहेको बताए ।
कार्यक्रममा सहभागी शिक्षकहरुले तालिम लिन पाउँदा खुशी व्यक्त गरेका थिए । तालिम विनै पढाउँदा तोकिएको शैक्षिक उपलब्धी नभएको आफूहरुले महासुस गरेको प्रशिक्षार्थी शिक्षक प्रतिक्षा लामाले बताए । लामाले उज्याले नेपाल र गाउँपालकालाई धन्यवाद दिंदै आगामी दिनहरुमा पनि यस्तो तालिमको आयोजना गर्न अनुरोध गरे ।
सो क्रममा शिक्षकहरुले गाउँपालिका अध्यक्ष गौतमसँग उनीहरुको समस्या समेत राखेका थिए । प्रारम्भिक वाल विकास केन्द्रका शिक्षकहरु राज्यको हेपाहमा परेको बताउँदै लामाल ‘सक्छ खाउ, नसके जाउ’ भन्ने खालको व्यबहार गरेको उनले गुनासो गरे ।
तालिमका प्रशिक्षकहरुले निर्वाचन नजिकै आएकोले प्रारम्भिक बालबिकास केन्द्रको बारेमा आ–आफ्नो घोषणा–पत्रमा समेट्न समे सबै राजनीतिक दलहरुलाई अनुरोध गरेका थिए । तालिममा चौरीदेउराली गाउँपालिकाका सबै वडाका गरि ४५ जना शिक्षकहरु सहभागी थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।