एमालेबाट निर्वाचित धुलिखेल नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष निराजन जंगम नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । बुधबार (आज) बनेपामा भएको एक कार्यक्रममा जंगम काँग्रेसमा प्रवेश गरेका हुन् ।

एमाले र माओवादी एकता भएर नेकपा बनेको केही वर्षपछि नै पार्टी फुटेपछि उनी कहिले माधव नेपाल पक्षकासँग नजिक भएका थिए भने कहिले केपी ओलीसँग नजिक भएका थिए । एमाले फुटेपछि केही समय एकीकृत समाजवादी निकट भएपछि पूर्व मन्त्री गोकुल बाँस्कोटा र धुलिखेलका मेयर तथा एमाले काभ्रेका अध्यक्ष अशोक ब्याञ्जुले एक छिन पनि नछोडेपछि उनी एमालेमै सक्रिय थिए ।

एमाले जिल्ला अध्यक्ष समेत रहेका ब्याञ्जुसँग सबैभन्दा बढी असन्तुष्टि रहेका जंगमलाई रोक्न बाँस्कोटा र ब्याञ्जु ‘न्वारन’देखिको बल निकालेर लागेका थिए । तर बाँस्कोटाको केही सीप लागेन । एमालेमा बा प्रबृत्ति रहेको र एमाले भन्दा काँग्रेस लोकतान्त्रिक पार्टी देखेर आफू काँग्रेसमा लागेको जंगमले उद्घोष नै गरे ।

एमाले भ्रष्टचारीहरुको पार्टी भएको आफूले पाएको जंगमले बताए । ‘अब एमाले प्रतिगमनकारी मात्र रहेन, भ्रष्टचारको अखडा बनेकोले त्यहाँ बस्नु कुनै औचित्य देखिएन ।’ उनले भने, ‘एमाले भन्दा त काँग्रेस सयौं गुण लोकतान्त्रिक र देशप्रति जिम्मेवार देखें । एमाले भित्रका इमान्दार, देशभक्त, लोकतान्त्रिक साथीहरुलाई पनि म काँग्रेसमा निसर्त प्रवेश हुन अपिल गर्दछु ।’

जिल्लामा बाँस्कोटाको नाम लिंदा आफूलाई लाज घिन लागेको बताउँदै ७० करोडको उपनाम पाएका बाँस्कोटासँग बस्नु अराजनैतिक कुरा मात्र होइन, काभ्रेली जनतालाई धोका हुने समेत उनले बताए ।

एमाले नेताहरुले भने जंगम अस्थिर व्यक्ति भएकोले उनको काँग्रेस प्रवेशले पार्टीमा कुनै असर नपर्ने बताएका छन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।