सरकारले स्थानीय तहको निर्वाचन आगामी बैशाख ३० गते तेकेको छ । संघीय लोकतान्त्रिक गणतन्त्रको स्थानीय तहको पहिलो निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुको कार्यकाल सकिन अब २ महिना मात्र बाँकी छ । तर पनि धेरै जसो जनप्रतिनिधिहरुलाई आफ्नो कार्यकाल सकेको पत्तै भएन् ।

काभ्रेको चौंरीदेउराली गाउँपालिकाका जनप्रतिनिधिहरुलाई पनि यस्तै भान भएको रहेछ । बुधबार (फागुन ३० गते) आफ्नो कार्यकालको अन्तिम गाउँसभा गाउँपालिकाको सभाहलमा चल्दै थियो । विशेष गरी अर्धवार्षिक समिक्षा हुने गरेको हिउँदे गाउँसभामा सबैले भावुक हुँदै आफ्नो कार्यकालको समिक्षा गर्दै थिए । सबैको एउटै कुरा थियो, ‘थाहै नपाई कार्यकाल सकिएछ ।’

आँखा सबैको रसाएको थियो । भावुक थिए सबै । मञ्चमा आएर भाषण गर्ने गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षहरुदेखि लिएर हलमा सहभागी अन्य कार्यपालिका सदस्यहरु, गाउँसभाका सदस्यहरु, कर्मचारीहरु र अन्य व्यक्तिहरु भावुक देखिन्थे ।

गाउँसभामा ५ वर्षभित्र के–के गरे, के के बाँकी छ ? भन्ने विषय पनि गम्भिर ढंगले समिक्षा भइरहेको थियो । एका–एक माफी माग्ने सम्मको वातावरण बन्यो । ‘यो कार्यकालमा अनजनमा मेरो गल्ती भयो होला, कोही कसैलाई नराम्रो बोलियो होला । जनप्रतिनिधि साथीहरु र कर्मचारी साथीहरु सबैसँग म क्षमा माग्न चाहन्छु ।’ सबैको उस्तै कुरा थियो, ‘अब दोहोरिन्छ या दोहोरिन्न थाहा छैन, तर सधैं सम्झिरहने मात्र होइन, चौंरीदेउराली गाउँपालिकाको समृद्धिको लागि सधैं हामी एकै ठाउँमा हुन्छौं ।’

के के भने वडा अध्यक्षहरुले ?

विनोद घिसिङ, प्रवक्ता एवं वडा नं. ३ का वडा अध्यक्ष

वडा नं. ३ का वडा अध्यक्ष एवं प्रवक्ता बिनोद घिसिङले गाउँसभामा सबैलाई स्वागत गर्दै ५ वर्षे कार्यकालको समिक्षा गरे । आँखा उनको पनि रसाएको थियो ।

उनले इतिहासको एउटा ऐतिहासिक अवसर लिन पाएकोमा गर्व गर्दै जनताको आधारभूत आवश्यकता पूरा गर्ने आफूहरुको प्रतिबद्धता करिब करिब पूरा भएको समिक्षा गरे । ‘समग्रमा हाम्रो चौंरीदेउराली, राम्रो चौंरीदेउराली’ बनाउन सकेको बताए । ‘इतिहासको एउटा ऐतिहासिक अवसर लिने मौका पायौ । संघीय लोकतान्त्रिक व्यवस्था अन्तर्गत स्थानीय तहको पहिलो जनप्रतिनिध हुन सकेकोमा गर्वानुभूती भएको छ ।’ घिसिङ उत्साहित र गम्भिर हुँदै भने, ‘हामी जनताको आधारभूत आबश्यकता पूरा गर्ने प्रतिबद्धता तिर लाग्यौं । हामीले करिब करिब पूरा गरेका छौं । त्यसैले हाम्रो चौंरीदेउराली, राम्रो चौंरीदेउराली बनाउन सक्यौं ।’

५ वर्षे कार्यकालको अन्तिम वर्ष आफूहरुले उद्घाटनको वर्ष हुने भनेर घोषणा गरेको स्मरण गर्दै उनले आत्मसमिक्षाले मात्र समृद्धिको ढोका खुल्ने भएकोले अब जनप्रतिनिधिहरुले गम्भीर आत्मसमिक्षा गर्दै जनताको सामु जान लागेको बताए ।

राम लामा, वडा अध्यक्ष वडा नं. ९

यसैबीच वडा नं. ९ का वडा अध्यक्ष राम लामाले पनि गम्भिरता र भावुकता मिसिएको मुस्कान दिंदै ५ वर्षको समिक्षा गरे । सो वडामा सबैभन्दा ठूलो समस्या भनेको खानेपानीको थियो । खानेपानी अभावका कारण एउटा गाउँका पूरै मानिसहरु बसाई सराई भएका थिए । ‘मेरो वडामा खानेपानीको डरलाग्दो समस्या थियो । एउटा गाउँका पूरै जनता बसाइ सर्न बाध्य भएको थियो । सबैभन्दा पहिला खानेपानीको समस्य समाधान गर्ने बाचा गरेको थिएँ ।’ लामाले भने, ‘यो वर्ष खानेपानीको समस्या पूरै समाधान हुने छ । बसाइ सराई गरेर गएका मान्छेहरु गाउँफर्किन थालेका छन् ।’
वडा भित्र सडक सञ्जाल पनि विस्तार भएको बताउँदै उनले आर्थिक विकास, सामाजिक विकास, भौतिक पूर्वाधार विकास लगायतका क्षेत्रमा सोचेको भन्दा बढी नै विकास भएको उनेको भनाई थियो ।
उनले पनि ५ वर्षे कार्यकालमा आफूबाट कुनै पनि प्रकारका गल्ती भए क्षमा दिन सबैमा आग्रह गरे ।

बीरबल लामा, वडा नं. ७ का वडा अध्यक्ष

वडा नं. ७ का वडा अध्यक्ष बीरबल लामा आफ्नो कार्यकालमा हरेक योजना पारदर्शी कार्यान्वयन गरेको दावी गरेका थिए । उमेरले शायद सबैभन्दा जेठे वडा अध्यक्षको रुपमा रहेको लामाले पनि भावुक र मार्मिक मन्तव्य राखेका थिए । आफूले जनतासँग भोट माग्दा कुनै ठूलो आश्वासन नदिएको बरु आफूले सोचेको भन्दा धेरै विकास भएको उनले बताए ।

खानेपानीको योजना अघि बढेको, सिंचाई योजनाहरु पनि सम्पन्न भएको, हरेक टोल बस्तीमा सडक सञ्जलको विकास भएको उनले समिक्षा गरे ।

रेशम चौंलागाईं, ६ नं. वडा अध्यक्ष

गाउँसभामा वडा नं. ६ का वडाल अध्यक्ष रेशम चौंलागाईंले जनताले जति अपेक्षा गरेको हो त्यो पूरा गर्न नसकेको तर सकेको आफूहरुले गरेको बताए । भुकम्पले क्षतविक्षत बनाएको घरहरु पुनर्निर्माण गर्नुपर्ने त्यसपछि कोरोना भाइरस विरुद्ध लड्नुपर्ने चुनौती एकै साथ सामना गर्नुपरे पनि गाउँपालिकामा काम प्रसास्तै भएको उनले दावी गरे ।

‘हिजोको चौंरीदेउराली कहाँ थियो, कस्तो अवस्थामा थियो, आज कहाँ आइपुग्यो यो कुरा जनतालाई थाहा छ ।’ उनले भने, ‘जनताले जति अपेक्षा गरेको थियो त्यो पूरा गर्न सकेनौं, तर सकेको गरेका छौं ।’ उनको पनि आँखा रसाइरहेको थियो । भावुक हुँदै अब फेरि जनतामा फर्किन तयारी गर्नुपर्नेमा जोड दिए ।

 राजकुमार गौतम, वडा अध्यक्ष वडा नं. ५

वडा नं. ५ का वडा अध्यक्ष राजकुमार गौतमले आफूहरुले सोचेको भन्दा बढी विकास भएको तर्क गरे । आफ्नो कार्यकालमा जनतालाई सिंहदरबर गाउँ–गाउँमा भन्ने कुराको जनतालाई अनुभूत गराएको बताए । मार्मिक ढंगले समिक्षामा भाग लिएका गौतमले जनताको आवश्यकता पूरा गर्न चौंरीदेउराली सरकार सक्षम भएको बताए ।

आफ्नो वडामा सडक पिच देखि विद्युतिकरण समेत भएको बताउँदै प्राविधिक शिक्षा र किसानमुखी कार्यक्रमहरु धेरै भएको बताए ।

 धन लामा, वडा नं. ८ का वडा अध्यक्ष

वडा नं. ८ का वडा अध्यक्ष धन लामाले गाउँसभामा सहभागीहरुको ध्यान आफूतिर आकर्षण गराउँदै दूरदर्शी नेतृत्व पाएकोले विकासमा फड्को मारेको बताए । स्थानीय तहको पहिलो सरकार सञ्चालन गर्ने मौका पाएका आफूहरुले पूर्वाधारमै सबै समय खर्चिनु परेको बताए । उनले आफ्नो वडामा खानेपानीको ९० प्रतिशत काम सकेको बताए ।

घण्टौ हिंडेर डोकोमा खानेपानी ल्याउनेपर्ने अवस्थाको अन्त्य भएको उनले बताए । ‘खानेपानीको ९० प्रतिशत काम पूरा भएको छ । घण्टौ हिडेर डोकोमा पानी ल्याउनुपर्ने अबस्था थियो ।’ उनले भने, ‘हिजो खानेपानी माग्दा पनि पाउँदैन थियो ।’ उनले भने, ‘आज घर–घरमा धारा पुगेको छ । प्रत्येक करेसाबारी हरियाली भएको छ ।’

खुशीको हाँसो छोड्दै उनले जनताको आवश्यकता र माग बमोजि विकासमा जोड दिएको बताउँदै जनता खुशी हुँदा आफू पनि खुशी भएको बताए ।

 दिनेश लामा, वडा नं. २ का वडा अध्यक्ष

यसैबीच वडा नं. २ का वडा अध्यक्ष दिनेश लामाले विकास निर्माणमा भूगोलले पनि फरक पारेको अनुभूति सुनाए । तर वडामा आएको बजेटको सदुपयोग गर्दै बजेटको अभाव रहेता पनि जनतासँग गरेको बाचा पूरा गरेको बताए । पहिलो वर्ष सिक्दै वितेको बताउँदै बाँकी वर्षहरुमा मात्र विकासले गति लिएको उनको कथन थियो ।

तर पनि वडामा मुख्य रुपमा सडक सञ्जाल हरेक गाउँबस्तीमा पुगेको, प्राविधिक शिक्षामा जोड दिएको, विद्यालय भवन निर्माण गरेको, कृषि तथा पशुपालनमा किसानमुखी कार्यक्रमहरु सञ्चालन भएको, एक घर एक धारा कार्यक्रम पनि प्रभावकारी रुपमा सञ्चालन भएको उनले बताए ।

राजु आले तामाङ, वडा नं. १ का वडा अध्यक्ष

वडा नं. १ का वडा अध्यक्ष राजु आले तामाङलाई पनि समय वितेको पत्तै भएन । सभालाई समिक्षात्मक मन्तव्य राख्दै उनले जनताको काम गर्दागर्दै ५ वर्षे कार्यकाल वितेको पत्तै नभएको बताए ।

वडा अध्यक्ष तामाङले आफ्नो वडामा पर्यटन विकासलाई मुख्य जोड दिएको बताए । वडामा पर्यटन विकासका लागि युद्ध पदमार्ग निर्माण, छ्योर्तेन, म्हान्दाङ, गुरुपेमाको मूर्ति निर्माण लगायतका कार्यहरु भएको बताए । साथै उनले चिया बगनको विकासको लागि समेत काम थालनी भएको र सो ठाउँमा १० हजार बोट चिया रोपेको बताए ।

त्यसको अलाबा यस वडामा विद्यालय भवन निर्माण, सडक सञ्जालको विस्तार लगायतका कार्यहरु भएको बताए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।