काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नं. ७ मा निर्माण सम्पन्न भएको मण्डनदेउपुर आधारभूत अस्पताल उद्घाटन भएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले एक समारोहका बीच अस्पताल उद्घाटन गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री खतिवडाले खोपमा कुनै अनियमितता नभएको प्रष्ट पार्दै आफु मन्त्रालय आउँदा भ्रष्टाचारको डर लाग्दो अवस्था रहेको बताए ।

गठबन्धन सरकारले घोषणा गरे बमोजिम नै कोभिडको खोप लगाई रहेको भन्दै मन्त्री खतिवडाले खोपले कोरोना भाईरसबाट जोगिन खोप अनिवार्य रहेको बताउनुभयो । बुस्टर डोज समेत देशैभर निःशुल्क चलिरहेको बताए ।

खोपमा पाँच पैसा पनि भ्रष्टाचार नभएको दाबी मन्त्री खतिवडाले गरे । ‘म स्वास्थ्य मन्त्रालय प्रवेश गर्दै गर्दा भ्रष्टाचारको चाङ थियो । महामारीका बेला ओली सरकारले अनेक काण्ड मच्याईरहेका थिए । तर त्यसलाई सन्तुलन कायम राख्दै मन्त्रालय अहिले जनताको सेवामा समर्पित छ ।’ उनले भने, ‘कोभिड खोपमा मेरो कार्यकालमा कुनै अनियमितता भएको छैन् । हुन दिने छैन् ।’

मन्त्री खतिवडाले ज्येष्ठ नागरिक अस्पताल खोलिने बताउँदै ज्येष्ठ नागरिकहरूका लागि छुट्टै अस्पताल निर्माणका मन्त्री परिषद्ले स्वीकृत दिइसकेको बताए । ‘अहिले विभिन्न सेवा क्षेत्रको अस्पताल छ । ज्येष्ठ नागरिक अस्पताल निर्माणका स्वास्थ्य मन्त्रालयले गरेको प्रस्ताव मन्त्री परिषद् बैठकले स्वीकृति दिईसकेको छ ।’ मन्त्री खतिवडाले भने, ‘अब छिट्टै ज्येष्ठ नागरिक अस्पताल निर्माणको काम अघि बढ्नेछ ।’

मन्त्री खतिवडाले ओली सरकारले बिना बजेट देशभरका विभिन्न पालिकामा अस्पताल शिलान्यास गरेको आरोप लगाउँदै विकासको कहिल्यै अन्त्य नहुने दाबी गरे ।

मण्डनदेउपुर आधारभूत अस्पताल बागमती प्रदेश सरकार र मण्डनदेउपुर नगरपालिकाको साझेदारीमा निर्माण गरिएको हो । १० करोड भन्दा बढी लगानीमा अस्पताल निर्माण गरिएको हो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।