काभ्रे जिल्लाको चौंरीदेउराली गाउँपालिकामा बाख्रापालनलाई आधुनिकीकरण गर्दै व्यवसायीकरणमा जोड दिएको गाउँपालिका अध्यक्ष दिननाथ गौतमले बताएका छन् । वडा नं. ७ मा ३ दिन सम्म चलेको पशुपालन पुनर्ताजगीय तालिम (पशु आहार उत्पादन र संरक्षण)को समापन गर्दै अध्यक्ष गौतमले उक्त कुरा बताएका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष गौतमले बाख्रा पालनको लागि उपयुक्त ठाउँको खोजीमा आफूहरु लागेको र वडा नं. ७ उपयुक्त देखिएकोले बाख्रा पालन ब्लक बनाउ शुरुवात गरेको बताए ।

उनले परम्परागत र निर्वाहमुखी पशुपालनको अन्त्य गर्दै आधुनिक, वैज्ञानिक तरिकाले पशुपालन गर्दै व्यवसायीकरण जोड दिनुपर्ने बताए ।

‘परम्परागत र निर्वाहमुखीबाट ब्यबसायीकरण हुँदै आत्मनिर्भर बनाउने गाउँपालिकाको योजना छ ।’ गौतमले भने, ‘अब तपाईंहरुलाई के–के आवश्यकता छ, गाउँपालिकालाई भन्नुहोस्, सहयोग गर्न तयार छु ।’

पशुपालनलाई व्यवसायीकरण गर्दै किसानहरुलाई आत्मनिर्भर बनाउन आफूले प्रत्येक वडामा प्राविधिकको व्यवस्था गरेको अध्यक्ष गौतमले बताए ।

अर्को एक प्रसंगमा गाउँपालिकाले धानको बीउ र गहुँको बीउ उत्पादन गरेको र यहाँबाट निर्यात गरेको जानकारी दिए ।

त्यसैगरी उपाध्यक्ष ताराकुमारी चौंलागाईंले बाख्रापालनलाई व्यवस्थित र सहज बनाउन गाउँपालिकाले वडा नं. ७ लाई बाख्रापालन ब्लक बनाएकोले बाख्रापालनमा लाग्न किसानहरुलाई अनुरोध गरिन् ।

कार्यक्रममा भेटेनरी अस्पताल, धुलिखेलका प्रमुख राजकुमार हुमागाईं, पशु चिकित्सक डा. नितेश कार्की लगायतका सहभागी थियो । तालिममा वडा भरिका २ सय ५० जना किसानहरुले भाग लिएका थिए ।