एमालेमा ४४ वर्ष काम गरेका काभ्रेका एमाले नेता रामकृष्ण हुमागाईं नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । एमालेका वागमती प्रदेश कमिटी सदस्य समेत रहेका हुँमागाईं बुधबार काँग्रेसमा प्रवेश गरेका हुन् ।
हुँमागाईंलाई कांग्रेस धुलिखेल नगर कार्यसमितिले आयोजना गरेको कार्यक्रममा कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले स्वागत गरेका थिए ।
हुँमागाईंसँगै तत्कालीन काभ्रे गाविसका अध्यक्ष साधुराम बडाल तथा उपाध्यक्ष कृष्णबहादुर बस्नेत, धुलिखेल नगरपालिकाका पूर्व वडा अध्यक्षद्वय निराजन जंगम र दामोदर तिमिल्सिना पनि कांग्रेसमा प्रवेश गरेका छन् ।
कांग्रेसले एमालेका ३ सय बढी कार्यकर्ता पार्टी प्रवेश गरेको दाबी गरेको छ । उनीहरूमध्ये अधिकांश एमाले नेता गोकुल बाँस्कोटाले प्रतिनिधित्व गर्ने क्षेत्रका रहेका छन् ।
हुँमागाईंले मदन भण्डारीको विचारबाट विचलित भइसकेकाले एमाले त्यागेको बताउँदै लोकतान्त्रिक चरित्र काँग्रेससँग मात्र भएको कारण आफू एमाले छाडेर कांग्रेसमा प्रवेश गरेको बताए ।
एमाले भित्र गोकुल बाँस्कोटा र अशोक ब्याञ्जुको तानाशाही प्रबृद्धि हावी भएको भन्दै एमाले नेता कार्यकर्ताहरुले पार्टी परित्याग गर्ने लहर नै चलेको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















