वीर अस्पतालमा उपचाररत काभ्रेका पूर्व जनमुक्ति सेनाका सेक्सन कमाण्डर भक्त रानालाई नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । काभ्रे जिल्लाको महाभारत गाउँपालिका वडा नम्बर ६ निवासी पुर्व जनमुक्ति सेनाका योद्धा रानालाई भेट गरि प्रचण्डले उपचारको लागि अब खर्चको समस्या हुन नदिने प्रतिबद्धता व्यक्त गरे ।
मकवानपुरको झुरझुरेमा भएको दोहोरो भीडन्तका बेला उनको टाउकोमा गोलीको छर्रा लागेको थियो । त्यसपछि घाइते भएका उनी शान्ति प्रक्रियापछि वाइसीएलको जिम्मेवारी रहि काम गर्दै आएका थिए । टाउकोमा लागेको चोट फेरि बल्झिएपछी रानाको खुट्टामा इन्फेक्सन देखिएको थियो । टाउकोमा नसा ब्लक भएपछि रानाको दुबै खुट्टा अप्रेसन गरेर फाल्नु परेको उनको उपचारमा संलग्न चिकित्सकहरुले प्रचण्डलाई बिफ्रिङ गरे ।
रानाको श्रीमती वर्षा राना र उपचारमा संलग्न चिकित्सकमार्फत उनको उपचार र आर्थिक अवस्थाबारे जानकारी लिएपछि अध्यक्ष प्रचण्डले उपचारका लागि अब खर्चको अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरे ।
‘उपचार खर्च, परिवारका लागि पार्टीले सहयोग गर्छ, सरकारसँग पनि कुरा गर्छौं ।’ उनले भने, ‘खर्चको दुख हुन अब दिन्न, दिइन्नँ ।’
अध्यक्ष प्रचण्डले विदेशबाट पनि सहयोग जुटाउने काम भइरहेको पनि बताए । प्रचण्डले रानाको श्रीमती वर्षा रानाको रोजगारी र उनका ७ वर्षीय छोराको शिक्षादीक्षाका लागि पनि उचित पहलकदमी लिने प्रतिबद्धता व्यक्त गरे । सो क्रममा अध्यक्ष प्रचण्डले अस्पतालमा उपचाररत अन्य बिरामीहरुको अवस्थाबारे पनि जानकारी लिएका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















