काभ्रेको महाभारत गाउँपालिकाका जनताले एक महिना भित्र विद्युतको मिटर वक्स पाउने भएको छ । माओवादी केन्द्र महाभारत–उपत्यक सम्पर्क समन्वय समितिद्वारा आयोजना गरेको एक कार्यक्रममा उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसालले एक महिना भित्र उपलब्ध गराउने प्रतिबद्धता जाहेर गरेपछि महाभारतवासीले मिटर वक्स पाउने भएको हो ।
‘महाभारतवासीलाई एक महिनाभित्र मिटर बक्स उपलब्ध गराइ दिने छु ।’ मन्त्री भुषालले भनिन्, ‘केन्द्रिय लाइन विस्तार भएसँगै सवस्टेसनको काम छिट्टो सम्पन्न गराउन लागिरहेका छौं ।’

त्यस्तै मन्त्री भुसालले कोखजोर खोलाको पानीलाई सिँचाईमा व्यवस्थापन गरेर बाह्रै महिना सुविधा हुनेगरी काभ्रेका महाभारत, खानीखोला र सिन्धुलीका जनतालाई समेत कृषिमा आत्मनिर्भर हुन सक्ने बनाउने प्रतिबद्धता व्यक्त गरे ।

उनले महाभारतवासीको किनेर खानु पर्ने दिनको अन्त्य गरी विक्री गर्न सक्ने स्थितिमा पु¥याउने समेत बताइन् । उनले यो काम आफु मन्त्री हुँदै पुरा गर्ने बताउँदै गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बालाई आगामी चुनावको घोषण पत्रमा नै राख्न आग्रह गरे ।

मन्त्री भुसालले १२१ मेघावट क्षमताको कोखजोर जलविद्युत आयोजनाको लागि जेठ १५ पछिको बजेटबाट काम सुरु हुने गरी थप अध्ययनको लागि इन्जिनियरको टोली पठाउने बताइन् ।

मन्त्री भुसालले माओवादीले जितेको पालिकामा जनताले महसुस गर्ने गरी आर्थिक, समाजिक लगायतमा विकास भएको बताइन् । उनले माओवादीले चाहेको विकास हेर्न जिल्लाकै महाभारत गाउँपालिका हेर्दा पुग्ने बताईन् । उनले नागरिकता, पासपोर्ट जस्ता सबै गाउँमा नै बनाउने व्यवस्था गरेकाले गाउँमा सिंहदरबार बनेको बताईन् ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष जिम्बाले गाउँ गाउँमा मोटर बाटो पुगेको जानकारी दिँदै केन्द्रिय विद्युत र सिंचाईको काम पुरा भएसँगै महाभारतमा उर्जाको क्षेत्रमा नयाँ आयम सुरु हुने बताए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।