निर्वाचन आयोगले अन्तिम मतदाता नामावली प्रकाशन गरेको छ । आगामी बैशाख ३० गते स्थानीय तह निर्वाचनका लागि अन्तिम मतदाता नामावली सार्वजनिक गरिएको हो । निर्वाचनका लागि कुल १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाता कायम भएको निर्वाचन आयाेगले जनाएकाे छ ।

आयोगले प्रकाशन गरेको अन्तिम मतदाता आंकडा अनुसार प्रदेश १ मा ३३ लाख ४७ हजार ३ सय ८४ मतदाता रहेका छन् । मधेश प्रदेशमा ३३ लाख ३१ हजार १ सय ७०, वागमती प्रदेशमा ३४ लाख १२ हजार ८ सय ६९ मतदाता रहेका छन् । यस्तै गण्डकी प्रदेशमा १७ लाख ८९ हजार ४ सय ११ मतदाता रहेका छन् । लुम्बिनी प्रदेशमा ३२ लाख १९ हजार ४ सय ५७ मतदाता रहेका छन् ।

कर्णाली प्रदेशमा १० लाख १ हजार २ सय ८२ र सुदुर पश्चिम प्रदेशमा १६ लाख ३२ हजार १ सय ५० मतदाता रहेका छन् । आयोगले १० हजार ७ सय ५६ मतदान स्थल र २१ हजार ९ सय ५५ मतदान केन्द्र निर्धारण गरेको छ । स्थानीय तह निर्वाचन २०७४ को तुलनामा १ सय १६ मतदानस्थल थप भएको हो । यस्तै अघिल्लो निर्वाचनमा भन्दा ३ हजार ३ सय ८३ मतदान केन्द्र थप भएको हो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।