काभ्रे जिल्लाको चौंरीदेउराली गाउँपालिकाको ‘एक घर एक धारा’ योजना अनुसार वडा नं. ३ लाई ‘एक घर एक धारा’ सहित आधारभूत खानेपानी युक्त वडा घोषणा गरेको छ । शुक्रबार प्रतिनिधि सभा सदस्य सांसद गंगाबादुर तामाङ र प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री रत्न ढकालले एक कार्यक्रमका बीच सो घोषणा गरेका हुन् ।
पालिकाले यस अघि नै ‘एक घर एक धारा’ अभियानलाई नीतिगत रुपमै अगाडि सारेको थियो । खानेपानीको अभावले गर्दा अक्रान्त बनेका पालिकाबासीलाई स्वास्थ खानोपानीको व्यवस्था गर्न पालिका सरकार, प्रदेश सरकार र संघीय सरकारको बजेटमा ‘एक घर एक धारा’ अभियान सञ्चालन गरेको थियो । ३ वर्ष अघिबाट शुरु गरेको यो अभियान अन्तर्गत वडा नं. ३ मा यो अभियान सम्पन्न भएको वडा अध्यक्ष विनोद घिसिङले बताए ।
उनका अनुसार यस वडामा ६ सय ६९ वटा घरमा ‘एक घर एक धारा’ कार्यक्रम सञ्चालनमा छ । निक्कै टाढाबाट खानेपानीको व्यवस्था गर्नुपरेकोले स्थानीय जनता बसाई सराई गर्न बाध्य थिए । ‘एक घर एक धारा’ अभियान सफल भएपछि स्थानीय खुशी भएका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै सांसद तामाङले ‘एक घर एक धारा’ सहित आधारभूत खानेपानी युक्त वडा घोषणा गर्न सफल भएकोमा जनप्रतिनिधि र स्थानीय जनतालाई बधाई दिए । आफूले यहाँको खानेपानीको समस्यालाई पहिलो प्राथमिकतामा राखिएसँगै बजेटको व्यवस्था गरेको उनको भनाई थियो ।
पानी नै जीवन भएकोले पानीको विकल्प पानी भएकोले आफूले जनताको खानेपानी समस्यालाई नजिकबाट हेरेको र समाधानको उपाय निकालेको बताए ।
त्यसैगरी प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री रत्न ढकालले सो वडामा खानेपानी समस्या समाधान भएको र ‘एक घर एक धारा’ निर्माण भएकोमा खुशी व्यक्त गर्दै चौंरीदेउरालीमा थोकको विकास होइन अर्बौंको विकास भएको उनले बताए । विकासका पूर्वाधारहरु निर्माण भइसकेकोले अब दिगो विकासका योजनाहरु तिब्रगतिमा अघि बढ्ने बताए ।
‘अब प्रत्येक वडाबाट गाउँपालिका जानेबाटो पिच हुन्छ । किनकी विकासका सबै प्रकारका पूर्वाधारहरु यहाँ विकास भइसकेको छ ।’ उनले भने, ‘काँग्रेस एमालेले कति वर्ष यहाँको नेतृत्व गरेको थियो, तर विकासको नाममा एक क्वाइल पाइप, एक दर्जन जस्ता बाहेक केही पाएनन् जनताले । अव थोकमा होइन विकास अर्बमा गर्ने हो ।’
एमाले अध्यक्ष केपी ओलीप्रति र्इंगित गर्दै ढकालले विकासको नाममा बतास, विकासको नाममा ओमनी, विकासको नाममा ठूला–ठूला भ्रष्टचार बाहेक केही नगरेको बताए ।
यसैबीच गाउँपालिका अध्यक्ष दिननाथ गौतमले आफूहरुले ५ वर्षमा के कति गर्न सके त्यसको मुल्यांकन गर्ने जिम्मा जनताको भएको बताए । आफूहरुले जनताको माग र आवश्यकता अनुसार विकास गर्ने क्रममा खानेपानीलाई दोस्रो प्राथमिकतामा राखेको बताए ।
‘एक घर एक धारा’ अभियान अन्तिम चरणमा पुगेको बताउँदै गौतमले अब यो आर्थिक वर्षभित्रै सम्पन्न हुने जानकारी दिए । वडा नं. ३ मा पहिला घोषणा गर्न सफल भएकोमा खुशी व्यक्त गर्दै खानेपानीलाई सहि ढंगले सदुपयोग गर्न उनले अनुरोध गरे ।
कार्यक्रममा पालिका उपाध्यक्ष ताराकुमारी चौंलागाईंले महिलाको जीवन व्यवबहारसँग जोडिएको खानेपानीको अभावले महिलाहरुले निक्कै कठीनपूर्ण जीवन यापन गर्न बाध्य भएको बताए । ‘एक घर एक धारा’ सम्पन्न भएपछि अब महिलाहरुले त्यो पिडाबाट मुक्त हुनेमा उनले विश्वास व्यक्त गरे ।
यसैबीच वडा अध्यक्ष घिसिङले अब करिव ५० वर्ष यहाँका जनताले खानेपानीको समस्या वेहोर्न नपर्ने बताउँदै यहीं सर्वेक्षणका साथ माझीफेदामा भालुखोला लगायतका मुहानबाट पाइप बिछ्याएर खानेपानीको व्यवस्थाका साथै विश्व स्वास्थ्य संगठनको न्युनतम मापदण्डभन्दा बढि गुणस्तरको धारा समेत जडान गरेको दावी गरे ।
यो विकासलाई दिगो बनाउन पानीको मुहान संरक्षण र मर्मत संभारमा उपभोक्ताको हात रहने भन्दै उनले स्थानीय जनता यसप्रति सचेत रहनुपर्नेमा जोड दिए । विकासको संरक्षणका लागि मानवीय चेतना, चिन्तन परिवर्तन हुन आवश्यक रहेको वडा अध्यक्ष घिसिङको धारणा छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















