आगामी बैशाख ३० गते हुन गईरहेको स्थानीय तहको निर्वाचनको लागि काभ्रे जिल्लाको रोशी गाउँपालिकामा नेपाली काँग्रेसबाट अध्यक्षमा श्रीमानले र उपाध्यक्षमा श्रीमतीले दावी गरेका छन् । गाउँपालिका उपाध्यक्ष लक्ष्मी बर्तौलाले उपाध्यक्ष र उनको श्रीमान बिदुर बर्तौलाले अध्यक्ष पदको दावी गरेका हुन् ।

राजनीतिमा श्रीमान र श्रीमती दुवै जना सक्रिय रहे पनि अध्यक्ष र उपाध्यक्षमा दुवैको दावी आएपछि काँग्रेस बृत्तमा चर्चा चलेको छ । रोशी गाउँपालिकाबाट अध्यक्ष पदको लागि ९ जना र उपाध्यक्ष पदको लागि ८ जनाले दावी पेश गरेका छन् ।

अध्यक्ष पदमा दावी गर्नेहरुमा बर्तौला सहित जिल्ला सचिव गुणराज मुक्तान, क्षेत्र नं २ का क्षेत्रिय सभापति चन्द्र लामा, रोशी गाउँपालिकाका अध्यक्ष डि. बि. लामा नेपाली काँग्रेस क्षेत्र नं १ का सभापति दिनेश लामा, वडा नं १० का वडा अध्यक्ष दुधराज लामा, वडा नं ६ का वडा अध्यक्ष पदम बहादुर लामा, वडा नं ७ का वडा अध्यक्ष पोष्टराज गौतम, नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य शंखबुद्ध लामा रहेका छन् ।

त्यस्तै उपाध्यक्षका लागी उपाध्यक्ष बर्तौला सहित रोशी गाउँकार्यपालिका सदस्य कमला तामाङ, रोशी ७ का कृयाशिल सदस्य धनमाँया तामाङ, वडा नं १ का वडा सदस्य निर्जला थापा, कार्यपालिका सदस्य प्रकृति बोहोरा, नेपाली काँग्रेस रोशी गाउँपालिका कार्यसमिति सह—सचिव रोजिना लामा, नेपाली काँग्रेस रोशी गाउँपालिका कार्यसमिति सदस्य सविता तामाङ, रोशी गाउँपालिकाका न्यायिक समितीका सदस्य ज्ञानी माँया तामाङले दावी गरेका छन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।