आगामी बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा काभ्रेमा सत्ता साझेदारी दलहरुबीच गठबन्धन नहुने पक्का भएको छ । जिल्ला स्थित सत्ता साझेदारी दलहरुको बैठकले गठबन्धनका लागि प्रदेशस्थित संयन्त्रमा पठाउने निर्णय भएसँगै काभ्रेमा गठबन्धन नहुने पक्का भएको हो ।
बुधबार बसेको गठबन्धनका नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीको पाँचौ बैठकले प्रदेशलाई जिम्मा दिने निर्णय गरेको माओवादी केन्द्रका जिल्ला सह–इन्चार्ज गंगाबहादुर तामाङ (बमध्वज)ले बताए ।
विशेष गरि नेपाली काँग्रेसको अडानका कारण काभ्रेमा गठबन्धन टरेको सह–इन्चार्ज बमध्वजले जानकारी दिए । ‘सबै पार्टीले दावी गरियो । सहमति हुन नसकेपछि प्रदेश संयन्त्रलाई जिम्मा दिने निर्णय भएको छ ।’ बमध्वजले भने, ‘काँग्रेले बढी संख्यामा दावी गरेको छ । जनाधार र मापदण्ड विपरीत अपेक्षा र दावी काँग्रेसको रह्यो । त्यसैले सहमति हुनै सकेन ।’
काभ्रेमा १३ स्थानीय तहमध्ये ९ वटामा कांग्रेस, ६ वटामा माओवादी केन्द्र, ४ वटामा एकीकृत समाजवादी र १ स्थानीय तह प्रमुखमा जनता समाजवादी पार्टीको दाबी रहेको स्रोतले बताएको छ ।
उम्मेदवार मनोनयन दर्ता गर्ने समय एक साता मात्र बाँकी रहँदा समेत गठबन्धन हुने अवस्था नरहेपछि माओवादी केन्द्रले एक–दुई दिनमै सबै उम्मेदवार टुंग्याउने माओवादी केन्द्रले जनाएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















