काभ्रे जिल्लाको बनेपा नगरपालिकाका मेयर लक्ष्मी नरसिंह बादे श्रेष्ठले एमाले परित्याग गरेका छन् । उनले शनिबार पत्रकार सम्मेलन आयोजना गरेर पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।

बनेपा नगरपालिकाको मेयर पदमा पुनः उठ्ने आकांक्षा व्यक्त गरेका श्रेष्ठलाई नेकपा एमालेले टिकट नदिएपछि पार्टी परित्याग गरेको जानकारी दिइएको छ । एमालेका केन्द्रीय सदस्य गोकुल बास्कोटाले बनेपाको मेयर पदमा पुनः उठाउने बचन दिएर धोका दिएको भन्दै उनले पार्टी परित्याग गरेका बताए । पत्रकार सम्मेलनमा उनले पार्टी र बास्कोटासहितको नेताहरूले आफूलाई झुक्याउने काम गरेको बताए ।

उनले बनेपाको मेयरबाट पनि राजीनामा गर्ने बताए । एमाले परित्याग गरिसकेपछि आफू नैतिकताका आधारमा सो पदमा बहाल हुन नसक्ने भएकाले राजीनामा दिने उनले बताए । एमालेले बनेपा नगरपालिकाको मेयर पदमा रत्नकुश रञ्जितलाई टिकट दिएको छ ।

मेयर वादे नेपाली काँग्रेसमा प्रवेश गर्न लागेको स्रोतले जानकारी दिएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।