काभ्रे जिल्लाको भुम्लु गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष प्रेमबहादुर भुजेल ‘बृहत’ले ब्रेनट्यूमरका पीडितलाई घरमै पुगेरआर्थिक सहयोग गरेका छन् । अध्यक्ष भुजेलले व्यक्तिगत रुपमा पिडितलाई आर्थिक सहयोग गरेका हुन् ।

बुधबार अध्यक्ष भुजेलले भुम्लु–४ चौबास हिले निवासी ब्रेनट्यूमर पीडित ३३ वर्षीय हेमप्रसाद चौलागाईंलाई घरमै पुगेर व्यक्तिगत रुपमा ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेका थिए ।

उनले ब्रेनट्यूमर पीडित चौलागाईंको उपचारमा राहत मिलोस् भन्ने उद्देश्यले सहयोग गरेको बताए । अध्यक्ष भुजेलले पीडितको स्वास्थ्य अवस्था बारे बुझ्दै आगामी दिनमा थप आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत गरे ।

अध्यक्ष भुजेलले गाउँपालिका भित्रका प्राणघातक जस्ता जटिल रोगका पीडितहरुका लागि आफूले सक्ने जस्तोसुकै सहयोगका लागि सदैव तत्पर रहेको बताए । ‘भुम्लुका नागरिकहरुलाई आर्थिक अभावका कारण अकालमै मृत्यु हुन दिइने छैन । सधैँभरि भुम्लुका जनताको साथमा रहेरे काम गर्ने छु ।’

नवनिर्वाचित अध्यक्ष भुजेलले पदभार ग्रहण गर्दै मृगौला, क्यान्सर, मस्तिष्काघात लगायतका प्राणघातक रोग लागेका गाउँपालिकाभित्रका नागरिकको निशुल्क उपचार गर्ने गरी ‘प्राणघातक रोग उपचार कोष’ समेत स्थापना गरिसकेका छन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।