काभ्रे जिल्लाको खानीखोला गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष इन्द्रबहादुर थिङ ‘छिन्ताङ’ले पदभार ग्रहण गरेका छन् । पदभार ग्रहणसँगै अध्यक्ष छिन्ताङले शिक्षा सम्बन्धी महत्वपूर्ण निर्णय समेत गरेका छन् ।

पदभार ग्रहण गर्ने क्रममा उनले दलित, सिमान्तकृत वा विपन्न परिवारमध्ये उत्कृष्ट २ जना विद्यार्थीलाई प्राबिधिक वा उच्च शिक्षा अध्ययनको लागि छात्रबृद्धिको ब्यवस्था गर्ने निर्णय गरेका छन् ।

अध्यक्ष छिन्ताङले एसईईमा उत्कृष्ट ग्रेड ल्याउने दलित, सिमान्तकृत वा विपन्न परिवारमध्ये १ छात्र र १ छात्रा गरी २ जना विद्यार्थीलाई प्राबिधिक वा उच्च शिक्षा अध्ययनको लागि छात्रबृद्धिको ब्यवस्था गरिने निर्णय गरेको जानकारी दिए । उनीहरुको सम्पुर्ण खर्च गाउँपालिकाले व्यहोर्ने उनको भनाई छ ।

‘गाउँपालिका क्षेत्रभित्रका सामुदायिक विद्यालयबाट एसईईमा उत्कृष्ट ग्रेड ल्याई उतीर्ण हुने दलित, सिमान्तकृत वा विपन्न परिवारमध्ये १ छात्र र १ छात्रा गरी २ जना विद्यार्थीलाई प्राविधिक वा उच्च शिक्षा अध्ययनका लागि छात्रबृद्धिको व्यवस्था गराउने प्रतिवद्धता जाहेर गर्दछु’, उनको पहिलो निर्णयमा भनिएको छ ।

उनले गाउँपात्रिकाभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको शैक्षिक गुणस्तर बृद्धि गर्न सुक्ष्म ढंगले अध्यनन गरी आवश्यक कदम समेत चल्ने बताए ।

त्यस्तै पदभार ग्रहणपछि संक्षिप्त प्रतिक्रिया दिँदै छिन्तङले सडक, खानेपानी, सञ्चार, जडिबुटी लगायतमा योजनाबद्ध रुपमा काम थाल्न गरी पञ्चवर्षीय योजना बनाएर ५ वर्षभित्र जनताले अनुभूती गर्ने गरी खानीखोलाको विकास गराउने बताए । उनले १ वर्षभित्र केन्द्रिय विद्युत प्रसारण लाईनमार्फत हरेक घर–घरमा बत्ती पु¥याउने बताए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।