काभ्रे जिल्लामा यस अघि पहिलो पार्टी बनेको एमाले तेस्रो दलमा परिणत भएको छ । १३ वटै स्थानीय तहको मतगणनाको अन्तम परिणाम अनुसार एमाले तेस्रो दल बनेको हो ।

काभ्रेमा माओवादी केन्द्र, एकीकृत समाजवादीसहित ५ दलसँग गठबन्धन गरेर चुनाव लडेको नेपाली कांग्रेसले उम्मेदवारी दिएको सबै पदमा जित हासिल गर्दै पहिलो दल बनेको छ भने माओवादी केन्द्र दोस्रो, नेकपा एमाले तेस्रो र नेकपा (एकिकृत समाजवादी) चौथो दल बनेको छ ।

काभ्रेको १३ स्थानीय तह मध्ये कांग्रेसले ४ नगरपालिका र ३ गाउँपालिका गरी ७ पालिकाको प्रमुख÷अध्यक्ष र ६ पालिकाको उपाध्यक्ष जितेका छन् । कांग्रेस गठबन्धन हुँदा भागबन्डामा पाए अनुसार उम्मेदवारी दिएका सवै पदमा विजय भएको छ । २०७४ को स्थानीय तह चुनावमा कांग्रेस दोस्रो दल थिए ।

दोस्रो दल माओवादी केन्द्रले ४ गाउँपालिकाको प्रमुखसँगै एक नगरपालिकासहित ४ पालिकामा उपप्रमुख जितेको छ । त्यस्तै एमालले एक प्रमुख र ३ स्थानीय तहमा उपप्रमुख जित्दा एकिकृत समाजवादीले एक स्थानीय तहको प्रमुख जितेका छन् ।

कांग्रेसबाट बनेपा नगरपालिकाको प्रमुखमा शान्तिरत्न शाक्य, पनौतीमा रामशरण भण्डारी, पाँचखालमा महेश खरेल, नमोबुद्धमा कुन्साङ लामा, रोशी गाउँपालिकाको अध्यक्षमा दिनेश लामा, बेथानचोक भगवान अधिकारी र तेमालमा चन्द्र लामाले जितेका छन् ।

त्यस्तै उपाध्यक्षमा धुलिखेल नगरापालिकामा निरजन जंगम, मण्डनदेउपुरमा विष्णमणी नेपाल, खानीखोला गाउँपालिकामा दोर्जेमान जिम्बा, महाभारतमा सागर मोक्तान, भुम्लुमा जितेन्द्रमान तामाङ, चौंरीदेउरालीमा शेरबहादुर तामाङ रहेका छन् ।

त्यस्तै माओवादीले खानीखोलाको प्रमुखमा इन्द्रबहादुर थिङ ‘छिन्ताङ’, महाभारतमा कान्छालाल जिम्बा ‘संसार’, चौरीदेउरालीमा रेणुका चौलागाईं र भुम्लुमा प्रेमबहादुर भुजेल ‘बृहत’ निर्वाचित भएका छन् । त्यस्तै नमोबुद्ध नगरपालिकामा रत्नबहादुर लामा, रोशीमा मिमबहादुर लामा, तेमालमा दलमान थोकर ‘डिएम’ र बेथानचोकमा तारा राना तिमल्सिना उपप्रमुखमा निर्वाचित भएका छन् ।

माओवादीले यसअघि प्रमुख र उपप्रमुख जितेका महाभारत र चौरीदेउरालीमा यसपटक उपप्रमुख गुमाएको छ । ती दुई पालिका बाहेक अघिल्लो निर्वाचनमा गुमाएका पालिकाको प्रमुख र उपप्रमुख भने यस पटक जितेका हुन् । माओवादीले गठबन्धनमा पाएको भागबन्डा अनुसार पाँचखालको उपप्रमुखमा मात्रै हार व्यहोर्नु परेको छ ।

तेस्रो दल बनेका एमालले धुलिखेलको प्रमुखमा अशोककुमार व्याञ्जु निर्वाचित भएको छ भने उपप्रमुखमा पनौतीमा गिता बज्जारा, बनेपामा विमला सापकोटा दाहाल र पाँचखालमा सुर्यमाया दुनुवार विजय भएका छन् ।

२०७४ को स्थानीय तहको निर्वाचनमा एमाले फुटपछि पनि ४ नगरपालिका प्रमुख, उपप्रमुख, २ गाउँपालिका अध्यक्ष, उपाध्यक्ष कायम रहेकोमा यसपटक अघिल्लो निर्वाचनको तुलनामा एमालेले काभ्रेमा ठुलो हार व्यहोर्नु परेका हुन् ।

जिल्लामा चौथो दल बनेको एकीकृत समाजवादीले मण्डनदेउपुर नगरपालिकाको प्रमुखमा टोकबहादुर वाइवा विजय भएका छन् । काभ्रेमा एकीकृत समाजवादीले गठबन्धनका भागबन्डामा पाए अनुसार धुलिखेलमा भने जित्न सकेन । त्यस्तै एकीकृत समाजवादी यसअघि रहेका नमोबुद्ध र भुम्लुको उपप्रमुख गुमाउनु परेको छ ।

काभ्रेको १३५ वडामध्ये कांग्रेस ६० वडामा, एमाले ४३, माओवादी केन्द्र २५, एकीकृत समाजवादी ४, स्वतन्त्र २ र राप्रपाका १ वडामा विजयी भएका छन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।