नेकपा (माओवादी केन्द्र)का केन्द्रिय सदस्य तथा पूर्व मन्त्री वर्षमान पुन (अनन्त)ले आफ्नो पार्टीको तर्फबाट निर्वाचित भएका जनप्रतिनिधिहरुलाई जनताको पक्षमा काम गर्न निर्देशन दिएका छन् । माओवादी केन्द्र जिल्ला समन्वय समिति काभ्रेको आयोजनामा शनिबार धुलिखेलमा भएको नवनिर्वाचित स्थानीय जनप्रतिनिधिलाई बधाई तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै नेता पुनले यस्तो निर्देशन दिएका हुन् ।

जनप्रतिनिधिले पार्टीको निश्चित नीति, विचार, आदर्श, कार्यशैली र अनुशासनको दायरामा बसेर जनताका पक्षमा काम गर्न सक्नुपर्ने बताउँदै उनले निर्धक्कसँग राम्रो काम गर्दा पार्टीले सहयोग गर्ने र हौसला दिने बताए । ०७४ को स्थानीय निर्वाचनपछि जनप्रतिनिधिले पार्टी र पार्टीले जनप्रतिनिधि नखोजेको भन्दै अब त्यसरी नचल्ने पुनले बताए ।

आफ्ना जनप्रतिनिधिलाई अरुको आलोचना र खिसीट्युरीमा नअल्झिन सुझाव दिए । राम्रो काम गरेर मन जितेपछि जनता आफैं माओवादी खोज्दै आउने उनको भनाइ थियो । राम्रो काम गरेकै कारण भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले अघिल्लो निर्वाचनमा दुई सय मतान्तरले जितेकामा यसपटक १२ हजारभन्दा बढीले जित हासिल गरेको चर्चा उनले गरे ।

पार्टीको इज्जत र प्रतिष्ठा धुलोमा मिलाउने जनप्रतिनिधिलाई पार्टीमा राखिरहन नसकिने स्पष्टोक्ति उनको छ । ‘राम्रो गर्नेलाई प्रोत्साहन गर्ने । राम्रा प्रतिनिधिलाई सम्मान गर्ने र हौसला बढाउने काम हुन्छ’, पुनले भने, ‘नराम्रो गर्नेलाई सच्याउने र आवश्यक परे कारबाही पनि गर्ने । किनभने मत घटाउने, पार्टीलाई बदनाम गर्ने प्रतिनिधिलाई राखेर केही काम छैन । गल्ती गरेको छ, गन्हाएको छ । दुनियाँले छि छि गरेको छ । हामीले त्यसलाई संरक्षण गर्नु हुँदैन ।’

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।