काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिकाका नगरप्रमुख कुन्साङलामाले सामाजिक न्यायसहितको आर्थिक विकास र समुन्नत समाज निर्माणका लागि नमोबुद्ध नगरपालिका सबै पक्षसँग हातेमालो गर्दै अघि बढ्ने प्रतिबद्धता जनाएका छन् । १५ औं गणतन्त्र दिवसको अवसरमा आइतबार एक शुभकामना सन्देश जारी गर्दै नगर प्रमुख लामाले यस्तो प्रतिबद्धता जाहेर गरेका हुन् ।
‘गणतन्त्र दिवसले आपसी एकताको भावनालाई अझै बलियो बनाउँदै समृद्ध नमोबुद्ध नगरको सपनालाई साकार पार्न हामी सबैलाई हौसला प्रदान गर्नेछ भन्ने विश्वास लिएको छु ।’ विज्ञप्तिमा भनिएको छ, ‘सामाजिक न्यायसहितको आर्थिक विकास र समुन्नत समाज निर्माणका लागि नमोबुद्ध नगरपालिका सबै पक्षसँग हातेमालो गर्दै अघि बढ्नेछ भन्ने प्रतिवद्धता पनि गर्दछु ।’
यस्तो छ विज्ञप्तिः
आज जेठ १५ गते अर्थात १५ औं गणतन्त्र दिवस । यस अवसरमा नमोबुद्ध नगरपालिकावासी तथा सम्पूर्ण नेपाली नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको कामना सहित हार्दिक शुभकामना व्यक्त गर्दछु ।
नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि विभिन्न कालखण्डमा भएका आन्दोलनमा आफ्नो जीवन बलिदान गर्नुहुने अमर सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । यो ऐतिहासिक दिनको अवसरमा गणतन्त्र र संघीयता प्राप्तिका लागि आ–आफ्नो ठाउँबाट सक्रियरुपमा सहभागी हुनुहुने सम्पूर्ण महानुभावमा उच्च सम्मानसमेत प्रकट गर्दछु ।
मुलुकमा गणतन्त्र स्थापना भएको १५ औं बर्षसम्म आइपुग्दा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था संस्थागत हुँदै गइरहेको छ । गणतन्त्र स्थापनापछि संविधानसभाद्वारा जारी गरिएको नेपालको संविधानले संघीयताको भावनालाई आत्मसात गर्दै तीन तहको सरकारको परिकल्पना गरेको थियो । सोही संवैधानिक व्यवस्था अनुसार स्थानीय सरकारको रुपमा रहेको स्थानीय तहको दोस्रो निर्वाचन समेत सम्पन्न भइसकेको छ । हालै सम्पन्न स्थानीय तहको निर्वाचन सफल बनाउन सक्रियतापूर्वक लाग्नुभएका सम्पूर्ण महानुभाव, सरकारी तथा गैरसरकारी निकाय, सुरक्षा निकाय, निर्वाचन आयोग, सञ्चारकर्मी लगायत सबैमा हार्दिक आभार प्रकट गर्दछु ।
गणतन्त्र दिवसले आपसी एकताको भावनालाई अझै बलियो बनाउँदै समृद्ध नमोबुद्ध नगरको सपनालाई साकार पार्न हामी सबैलाई हौसला प्रदान गर्नेछ भन्ने विश्वास लिएको छु । सामाजिक न्यायसहितको आर्थिक विकास र समुन्नत समाज निर्माणका लागि नमोबुद्ध नगरपालिका सबै पक्षसँग हातेमालो गर्दै अघि बढ्नेछ भन्ने प्रतिवद्धता पनि गर्दछु । सबैको साथ, सहयोग र आपसी एकताको भावनालाई आजको यस ऐतिहासिक दिनले अझै सुदृढ बनाउँदै लैजाओस् भन्ने कामनासहित पुनः १५ औं गणतन्त्र दिवसको हार्दिक शुभकामना व्यक्त गर्दछु । जय नमोबुद्ध ।
कुन्साङ लामा
नगर प्रमुख
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















