जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख नेकपा (एकीकृत समाजवादी)का जिल्ला सचिव दिपक गौतम बन्ने पक्का भएको छ । पाँचदलीय गठबन्धनमा सहमति भएसँगै नेता गौतम जिल्ला समन्वय समितिको प्रमुख बन्ने पक्का भएको हो ।
जिल्लाका १३ वटा पालिकामा गठबन्धनको लागि सहमति भएकै बेला नेकपा (एकीकृत समाजवादी)लाई प्रमुख पद दिने सहमति भएको स्रोतले जनाएको छ । ९ सदस्यीय जिल्ला समन्वय समितिमा काँग्रेसले उप–प्रमुख सहित ३, माओवादी केन्द्रले ४ र एकीकृत समाजवावदीले प्रमुख सहित २ सदस्य पाउने गरि सहमति हुन लागेको स्रोतले बताए ।
यस अघि माओवादी केन्द्रलाई उप–प्रमुख दिने सहमति भएपनि नेपाली काँग्रेसले सहमति तोडेर उपप्रमुख पद आफैले पाउनुपर्ने दावी गरेको थाहा भएको छ ।
एकीकृत समाजवादीले प्रमुख पद पाउने भएपछि जिल्ला सचिव गौतम चौंरीदेउराली गाउँपालिका वडा नं. ४ बाट वडा सदस्यमा उम्मेदवारी दिएका थिए । माओवादी केन्द्रसँग गठबन्धन गरेपछि उनले वडा सदस्यमा जितेका थिए ।
जिल्ला समन्वय समितिको निर्वाचनको लागि काभ्रेपलाञ्चोक जिल्लामा १३ स्थानिय तहमा २६ जना मतदाता रहेका छन् । पालिका प्रमुख र उप–प्रमुख यसको मतादाता हुने व्यवस्था छ ।
जिल्ला समन्वय समितिको प्रमुख पदमा निर्वाचित हुनका लागि कम्तिमा १४ मत प्राप्त गर्नुपर्ने हुन्छ । नेपाली काँग्रेससँग ७ वटा पालिका प्रमुख र ६ वटा पालिका उप–प्रमुख रहेको छ । त्यस्तै नेकपा (माओवादी केन्द्र) सँग ४ वटा पालिका प्रमुख र ४ वटा पालिका उप–प्रमुख रहेको छ । नेकपा एमालेसँग एक पालिका प्रमुख र ३ पालिका उप–प्रमुख रहेको छ । त्यस्तै एकीकृत समाजवादीसँग १ पालिका प्रमुख रहेको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















