काभ्रे जिल्लाको तेमाल गाउँपालिकाका नवनिर्वाचित गाउँपालिका अध्यक्ष चन्द्रबहादुर तामाङले तेमालका जनताको हरेक समस्या समाधान गर्ने बताएका छन् । आइतबार नेपाल शिक्षक संघ तेमाल गाउँपालिका इकाइ समितिको आयोजनामा भएको नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा सम्मान समारोहलाई सम्बोधन गर्दै अध्यक्ष तामाङले उक्त कुरा बताएका हुन ।

सम्बोधनको क्रममा अध्यक्ष तामाङले शिक्षा र शिक्षककोबारेमा ख्यालख्याल सोच्न नहुने बताए । ‘संसार बदल्न त सबै चाहेका हुन्छन्, तर साँच्चिकै बदल्न भने शिक्षकले मात्र सक्छ ।’ उनले भने, ‘त्यसैले शिक्षा र शिक्षकको विषयमा मजाक नगरौं ।’
हरेक क्षेत्रको जनशक्ति उत्पादन शिक्षकले गर्ने गरेको बताउँदै तामाङले जिम्मेवार बन्न शिक्षकहरुलाई अनुरोध समेत गरे ।
त्यसैगरी तेमाल गाउँपालिकाका निवर्तमान अध्यक्ष सलामसिं तामाङले तेमालको इज्जत खलल हुने काम शिक्षकहरुबाट हुन नहुने बताउँदै आफ्नो कार्यकालमा शिक्षकहरुको मर्यादालाई तल पर्ने कार्य नगरेको ठोकुवा गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै निवर्तमान गाउँपालिका उपाध्यक्ष दुर्गामाया तामाङ काभ्रेको १३ स्थानीय तह मध्य तेमाल गाउँपालिका नमुना बनाउन सफल भएको बताउँदै आफु पदमा रहँदा या नरहँदा समेत तेमाली जनताको साथमा हुने प्रतिबद्धता जाहेर गरे ।
कार्यक्रममा नेपाल शिक्षक संघका जिल्ला सह–सचिव दिलकुमार मोक्तान, शिक्षक नेता हिराबहादुर श्रेष्ठ, वडा अध्यक्षहरु चन्द्रबहादुर लामा, इन्द्रलाल लामा, विष्णुबहादुर तामाङ, नेपाल शिक्षक महासंघका तेमाल सचिव जगत तामाङ लगायतका सहभगी थियो ।
संघको तेमाल गाउँपालिका अध्यक्ष बाबुलाल तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघका अर्थ सचिव तथा नेपाली काँग्रेस तेमाल गाउँपालिकाका सचिव भिम लाल तामाङले स्वागत गरेका थिए ।
Comments