काभ्रेको विकट क्षेत्रको रुपमा परिचित डाँडापारि क्षेत्रमा पर्ने खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङ ‘छिन्ताङ’ले गाउँपालिकालाई लयमा हिडाउने प्रयास थालेका छन् ।
खानीखोलाका निवर्तमान जनप्रतिनिधिमाथि गाउँपालिकालाई बेथितिमा चलाएको आरोप थियो । गाउँपालिकामा कर्मचारी नबस्ने, विपद्को पूर्वतयारी नगर्ने, सेवाग्राहीको काममा कर्मचारीले ध्यान नदिँदा समेत जनप्रतिनिधि निरीह बन्ने, नागरिकको दुखलाई टाढैबाट हेरेर बस्ने र नीति कार्यक्रमसहित बजेट विनियोजनका बेला आफूखुसी निर्णय गर्ने लगायतको बेथितिमा खानीखोलामा चलेको आरोप थियो ।
गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष थिङले खानीखोलालाई बेथितिबाट लयमा हिडाउने प्रयास गरेका गरेका छन् । उनले समस्याको सहि पहिचान गर्दै समाधान गर्ने योजना बनाएको छ । प्रारम्भिक रुपमा उनले विभिन्न क्षेत्रको सुधारमा लाग्ने भएको छ ।
पहिलो सुधार कर्मचारीबाट
गाउँपालिकाका अध्यक्ष थिङले पहिलो सुधार कर्मचारीबाट थालेका छन् । खानीखोलामा कर्मचारी कार्यालयमा नभेटेको भन्दै सेवाग्राहीले यसअघि पनि पटकपटक गुनासो सुनाउँदै आएका थिए । ‘यो भन्दा अगाडि हामीले कर्मचारी कि त बनेपारधुलिखेल नभए ठीमी भेट्ने गथ्यौं’ नाम नछाप्ने शर्तमा एकजना सेवाग्राहीले भने, ‘यो बेथिति नसुधारेसम्म खानीखोलालाई वास्तविक लयमा फर्काउन सम्भव छैन ।’
अध्यक्ष थिङले कर्मचारीलाई अनिवार्य कार्यालयमा रहन र यदि बिदामा कहीँकतै जानुपरेको खण्डमा कार्यालय प्रमुखको अनुमति लिएर मात्रै बिदामा रहन निर्देशन दिएका छन् । उनले सेवाग्राहीको गुनासो शुन्य हुने गरी काम गर्न समेत निर्देशन दिएका छन् । ‘म आएको यति दिन भयो उति दिन भयो भन्दै अब सेवाग्राहीले गुनासो गरेको दृश्य देख्नु नपरोस्, त्यो दृश्यको अन्त्य हुनेगरी काम गर्न म कर्मचारी साथीहरुलाई आग्रह गर्छु’ अध्यक्ष थिङले कर्मचारीहरुलाई भनेका छन् ।
बजेटका लागि वडामा छलफल अनिवार्य
अध्यक्ष थिङले गाँपालिकाको बजेट अधिवेशन अघि सबै वडामा बजेट तर्जुमाका लागि अनिवार्य छलफलका लागि वडाध्यक्षहरुलाई निर्देशन दिएका छन् । गाउँपालिकाले आगामी असार १० गते बजेट ल्याउने तयारी गरिरहेको छ । त्यसअघि सबै वडामा छलफल गर्न अध्यक्ष थिङले निर्देशन दिएका हुन् ।
सोही अनुसार असार ०१ गतेदेखि ०७ गतेसम्म वडास्तरमा छलफल हुँदैछ । असार ०८ गते वडा नम्बर १, वडा नम्बर २ को, २ गते वडा नम्बर ०३ गते ३ गते र वडा नम्बर ०४ को असार ४ गते छलफल हुनेछ ।
त्यसैगरी वडा नम्बर ०५ को असार ५ गते, वडा नम्बर ०६ को असार ६ गते र वडा नम्बर ०७ को असार ७ गते वडास्तरमा छलफल हुनेछ ।
गाउँपालिकाको परिषदमा सबैलाई निम्तो
यसैबीच गाउँपालिकाले गाउँसभाको परिषदमा सबै दल र बुद्धिजीवीहरुलाई निम्तो गर्ने भएको छ । यसअघिको परिषदमा कुनै पनि दल र अरुलाई बोलाइएको थिएन ।
जेठ ०९ गते निवर्तमान जनप्रतिनिधिको बिदाई एवं नवनिर्वाचित जनप्रतिनिधिको स्वागतका क्रममा अध्यक्ष थिङले भनेका थिए, ‘यसअघि तपाईहरुले के गर्नुभयो थाहा भएन, यो पटकको गाउँसभामा हामी सबै राजनीतिक दल, बुद्धिजीवीहरुलाई खबर गर्छौं, निम्तो गरेर बोलाउँछौँ ।’
अवरुद्ध बाटो खुलाउन डोजर स्ट्याण्डबाई
अध्यक्ष थिङले खोपासी–ताल्ढुंगा सडकलाई १२ महिना नै चलाउनेगरी काम अगाडि बढाएका छन् । वर्षातका समयमा हरेक वर्ष खानीखोला जाने सडक बन्द हुन्थ्यो । जसका कारण डाँडापारिबासी पैदल हिड्नुपर्ने बाध्यता थियो ।
तर, अध्यक्ष थिङले वर्षात्मा आउनसक्ने पहिरो लगायतलाई मध्यनजर गरी डोजर स्ट्याण्डबाई राखेका छन् । ‘निरन्तरको वर्षातका कारण पहिरो आउने र बाटो अवरुद्ध हुनसक्ने कुरालाई ध्यानमा राखेर हामीले खोपासी–ताल्ढुंगा सडकमा डोजर स्ट्याण्डबाई राखेका छौँ’ गाउँपालिकाका अधयक्ष थिङले भने, ‘कम्तिमा पनि खोपासी–ताल्ढुंगा सडक १२ महिना नै चलाउने हाम्रो योजना हो ।’
विद्यालयका प्रअसँग पनि छलफल
त्यस्तै अध्यक्ष थिङले गाउँपालिकाभित्रका प्रधानाध्यापकहरुसँग पनि छलफल गरेका छन् । विद्यालयको शैक्षिक गुणस्तर सुधार लगायतका विषयमा उनले छलफल गरेका हुन् । –डाँडापारि सन्देश साप्ताहिकबाट
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।