गत बैशाख ३० गते सम्पन्न निर्वाचनमा आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुलाई नेपाली काँग्रेस पार्टी, काभ्रेले सम्मान गरेको छ । शुक्रबार बनेपामा एक कार्यक्रमकाबीच काँग्रेसले उनीहरुलाई सम्मान गरेको हो ।

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय उपसभापति पूर्णबहादुर खड्काले जनप्रतिनिधिहरुलाई सम्मानपत्रद्वारा सम्मान गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति खड्काले सबै जनप्रतिनिधीहरुलाई जनताको भावना बुझेर काम गर्न आग्रह गरे । पार्टी भित्र र बाहिरका नेताहरुले एमसिसि पास भए काँग्रेस सकिन्छ भनेपनि जनताले अबको देशको निकासका लागि काँग्रेस आवश्यक ठानेर मत दिएको बताउँदै उनले नेपाली काँग्रेस यति बेला स्थानीय तहको निर्वाचनमा पहिलो पार्टी भएको बताए ।

जनताको मर्म र भावना बुझेर भोलिका दिनमा पनि जनताको मतको ख्याल गर्दै काम गर्न जनप्रतिनिधिहरुलाई उनले निर्देशन दिँदै अब आउने प्रदेश र सघीय निर्वाचनमा पनि नेपाली काँग्रेस पहिलो पार्टी बनाउन सबै जनप्रतिनिधिीहरुले जनताको भावना बुझेर स्थानीय तहमा राम्रा काम गर्न आग्रहर गरे ।

त्यसैगरी कांग्रेस केन्द्रीय सदस्य मधुप्रसाद आचार्य र गणेश लामाले जनताको मन जित्ने गरी काम गर्न जनप्रतिनिधिहरुलाई अनुरोध गरे । अब चाँडै नै प्रदेश र सघीय निर्वाचनका लागि सबै एकजुट भई स्थानिय तहको नतिजा पुन प्रदेश र संघका लागि पनि सबै जना एक ढिक्का भएर लाग्न आग्रह गरे ।

नेपाली कांग्रेस काभ्रेका जिल्ला सभापति तीर्थ लामाले जनप्रतिनिधिहरु सिसाको घरमा रहेको भन्दै जनताले प्रत्येक क्रियाकलाप निगरानी गरिरहने बताए । नेपाली काँग्रेसका निमित्त काभ्रेली अग्रज नेताहरुले देखाएको मार्गमा निरन्तरता हिड्दा काभ्रे काँग्रेसको लागि यतिखेर ठुलो अवसर मिलेको समेत उनले दावी गरे ।

स्थानिय तहको निर्वाचनमा गठबन्धन गरी अगाडी बढ्ने क्रममा पुर्ण रुपमा नेपाली काँगे्रस सफल भएको बताउँदै जिल्लामा रहेको १३५ वडहरु मध्य थोरैमा मात्रै गठबन्धन भएपनि अन्य वडाहरुमा गठबन्धन पक्षधार नै आ—आफ्नै तरिकाले निर्वाचनमा सहभागि हुँदै गर्दापनि नेपाली काँग्रेसले ६० वटा वडामा बिजयी हुन सफल भएको उनले बताए ।

स्थानीय तह निर्वाचनको क्रममा जिल्लाका १३ स्थानीय तहमध्ये नेपाली कांग्रेसले ४ नगर प्रमुख, २ उपप्रमुख, ३ गाउँपालिका अध्यक्ष, ४ उपाध्यक्ष पदमा जितेको छ । यस्तै १ सय ३५ वडामध्ये ६० वडाअध्यक्ष, ६० महिला सदस्य, ६१ दलित महिला सदस्य र १२० जना खुल्ला सदस्य समेत कांग्रेसका ३ सय १४ जना र कार्यपालिका सदस्यमा थप ३३ जना निर्वाचित भएका छन् । कांग्रेस स्थानीय तहमा निर्वाचनमा काभ्रेमा पहिलो पार्टी बनेको थियो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।