स्थानीय तह निर्वाचन पछि अब निर्वाचन आयोगले जिल्ला समन्वय समिति काभ्रेको निर्वाचन मिति तोकेको छ । मुख्य निर्वाचन अधिकृत मोहनराज भट्टराइका अनुसार निर्वाचन आगामी असार १ गते हुने भएको छ ।

निर्वाचन सम्बन्धि कार्यतालिका सार्वजनीक गरेको तालिका अनुसार उमेद्वारको मनोनयन पत्र दर्ता गर्ने मिति यहि जेठ २९ गते तोकिएको छ ।

जिल्ला समन्वय समितिमा एक प्रमुख, एक उपप्रमुख र तीन महिला सहित ९ सदस्यको निर्वाचन हुन्छ । मतदाताको रुपमा नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउपालिकाका अध्यक्ष र उपाध्यक्ष रहन्छन् । काभ्रेमा १३ स्थानीय तह भएकोले जिल्ला समन्वय समितिको मतदाता २६ जना रहने छन् ।

सहमति तोड्दै काँग्रेस

निर्वाचन अघि पाँच दलिय गठबन्धनबीचमा सहमति भए अनुसार नेकपा (एकीकृत समाजवादी)लाई जिल्ला समन्वय समितिको प्रमुख पाउनुपर्नेमा अब नपाउने निश्चित भएको छ । नेपाली काँग्रेसले सो सहमतिलाई कार्यान्वयन गर्न आनाकानी गरेपछि एकीकृत समाजवादीले नपाउने निश्चित भएको हो ।
स्रोतका अनुसार काँग्रेसले एकीकृत समाजवादीको एक मतको लागि प्रमुख छोड्न नमानेपछि सहमति लगभग तोडीसकेको थाहा भएको छ । यस अघि एकीकृत समाजवादीलाई प्रमुख, माओवादी केन्द्रलाई उप–प्रमुख र नेपाली काँग्रेसलाई सदस्यमा दिने सहमति भएको थियो ।

एक मतको मात्र आवश्यक रहेको काँग्रेसले अब प्रमुख पद नछोड्ने भएपछि गठबन्धन दलहरुबीचमा चरम अन्तरविरोध भएको थाहा भएको छ । काँग्रेसले पूर्वसहमति तोडेपछि काँग्रेस र माओवादी केन्द्रबीचमा मात्र गठबन्धन हुने चर्चा चलेको छ ।

काँग्रेस र माओवादी केन्द्रबीच गठबन्धन गर्ने सहमति समेत भएको स्रोतले बतायो । जस अनुसार काँग्रेसबाट प्रमुख सहित ५ जना सदस्य र माओवादी केन्द्रबाट उप–प्रमुख सहित ४ जना सदस्य रहने गरि सहमति भएको बताइएको छ ।

काभ्रेमा १३ स्थानीय तहमा जम्मा २६ मत रहेको छ । जसमध्य काँग्रेसको १३ मत, माओवादी केन्द्रको ८ मत, एमालेको ४ मत र एकीकृत समाजवादीको १ मत रहेको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।