तामाङ पत्रकार सङ्घ, काभ्रेले स्थानीय तह निर्वाचन–२०७९ मा तामाङ समुदायबाट निर्वाचित पालिका प्रमुख तथा उपप्रमुखहरूलाई सम्मान गरेको छ । बुधवार निर्वाचित जनप्रतिनिधिहरूलाई बधाई तथा शुभकामना कार्यक्रममा उनीहरूलाई सम्मान गरेको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मण्डनदेउपुर नगरपालिकाका प्रमुख टोक बहादुर वाइबाले तामाङ भाषामा पाठ्य पुस्तक बनाएर विद्यालयमा लागु गरेको उल्लेख गर्दै त्यसको प्रभाव निक्कै रहेको बताए । साथै वाइबाले पत्रकारले खबरदारी गर्नुपर्नेमा जोड दिए ।
त्यसै गरी खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङले पत्रकारहरूले आफूहरूलाई सधैँभरि सचेत गराउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामा, नमोबद्ध नगरपालिकाका प्रमुख कुन्साङ लामा लगायतले पत्रकारिताको माध्यमबाट आफूहरूलाई सहयोग गर्न अनुरोध गरे ।

नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष बद्रीराज तिमल्सिनाको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा प्रेस युनियनका केन्द्रीय सदस्य ईश्वरी ओझा, प्रेस चौतारी नेपालका महासचिव हिरामान वाइबा, प्रेस सेन्टरका केन्द्रीय सदस्य ग्याम्जो लामा, फोटो पत्रकार महासंघ, काभ्रेका अध्यक्ष केशवराज पौडेल लगायतले निर्वाचित जनप्रतिनिधिहरूलाई बधाई तथा कार्यकाल शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा आदिवासी जनजाति महासंघ वाग्मती प्रदेशका इन्चार्ज तथा प्रेस सेन्टरका केन्द्रीय सदस्य पेमा लामा, प्रेस सेन्टरका जिल्ला अध्यक्ष रोजन तामाङ, प्रेस युनियनका जिल्ला अध्यक्ष कपिल कोइराला, प्रेस चौतारीका जिल्ला अध्यक्ष भुवन रायमाझी, आदिवासी जनजाति पत्रकार महासङ्घका जिल्ला अध्यक्ष इन्द्रबहादुर थापा, तामाङ पत्रकार सङ्घका केन्द्रीय सचिव शिशिर दोङ, प्रदेश सचिव जगत तामाङ लगायतका सहभागी रहेका थिए ।

कार्यक्रमको अध्यक्षता सङ्घका जिल्ला अध्यक्ष अञ्जली तामाङले गरेका थिए भने कार्यक्रमको सञ्चालन सङ्घका जिल्ला सचिव कृष्णबहादुर घिसिङले गरेका थिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।