काभ्रेको चौंरीदेउराली गाउँपालिकाले आर्थिक वर्ष २०७९÷०८० को लागि योजना तर्जुमा गर्न सर्वपक्षिय बैठकको आव्हान गरेको छ । मंगलबार गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत महानदास लामाद्वारा एक सूचना जारी गर्दै सर्वपक्षिय बैठकको आव्हान गरेको हो ।

बैठकको लागि सबै वडाका वडा अध्यक्षहरु, चौंरीदेउराली गाउँपालिका भित्र रहेका नेकपा (माओवादी केन्द्र), नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा एकिकृत समाजवादी लगायतका राजनीतिक दलहरु, शिक्षकहरुको विभिन्न संगठनहरु, नागरिक समाजका अगुवा, बुद्धिजीवि, समाजसेवी, योजनाविद्हरू, बिभिन्न युवा क्लव लगायत युवासंग सरोकार राख्ने ब्यक्तिहरू, बिभिन्न संघ संस्थामा आवद्ध ब्यक्तिहरूलाई सहभागीको लागि अनुरोध गरेको छ ।

बैठक आ.व. ०७९।८० को नीति बजेट तथा कार्यक्रमको निर्माण एवम् तर्जुमा गर्न, सम्पूर्ण चौंरीदेउराली जनताको अधिकतम माग गुनासो र आवश्यकताहरुलाई सम्बोधन गर्ने उदेश्यले आव्हान गरिएको प्रमुख प्रशासकीय अधिकृत लामाले सूचनामा उल्लेख गरेका छन् ।

कार्यक्रम आगामी जेठ ७ गते मंगलबार गाउँपालिकाको सभाहलमा हुने जनाएको छ ।

गाउँपालिकाले १० गते नै नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्ने तयारीमा छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।