द्वन्द्वात्मक भाैतिकवादी दर्शनकाे आँखाबाट हेर्दा कुनै पनि वस्तु र घटना निरपेक्ष हुँदैन, सापेक्ष हुन्छ । चिरस्थायी हुँदैन, बदलिरहन्छ । कि त रुप बदलिन्छ कि त सार । त्यसैले घटनाक्रमलाई पनि गतिमा बुझ्नु पर्छ । हामी कतिपय वस्तु र घटनाहरु बदलिरहेकाे देख्छाैं । तर वास्तवमा ती वस्तु र घटना मूलतः बदलेकाे हुँदैन । ती रुपमा मात्र बदलिएका हुन्छन्, सारमा उस्तै हुन्छन् । यहाँ रुपमा भएकाे परिवर्तन खासमा परिवर्तन हाेइन, सारमा भएकाे परिवर्तन मात्रै वास्तविक परिवर्तन हाे । सारमा आएकाे बदलाव आधारभूत र महत्वपूर्ण हाे । सारमा भएकाे परिवर्तन गुणकाे परिवर्तन हाे ।रुपकाे परिवर्तनले कतिपय भ्रमहरु सृजना गर्छ ।
नेपाली राजनीतिमा भएका भरखरका केही घटनाहरुलाई नै उदाहरणकाे रुपमा लिऊँ । अस्ति सम्पन्न स्थानीय निर्वाचनमा केही स्वतन्त्र व्यक्तिहरुकाे उदय (बालेन्द्र साह, गाेपाल हमाल, हर्क साम्पाङ आदि) लाई कतिपय मानिसहरुले चमत्कार माने, अब नेपालमा नयाँ हिराेहरुकाे उदय भएकाे र देशकाे शासन यिनीहरुकाे हातमा जानुपर्छ भन्नेसम्मकाे मतहरु आइरहेका छन् । विशेषतः युवा पंक्तिहरु यस्ताे धारणा राख्छन् । आसन्न प्रदेश र संघीय निर्वाचनमा यस्तै स्वतन्त्र व्यक्तिहरुले आफुलाई उम्मेदवारकाे रुपमा अग्रिम घाेषणा गर्ने एउटा लहड नै चलिरहेकाे छ । यसैबेला रवि लामिछानेले नेपाल स्वतन्त्र पार्टी नै खाेले । अरुले पनि पार्टी खाेल्लान् । चुनावसम्ममा याे क्रम अझ बढ्ने संकेतहरु देखिएका छन् । केही थान स्वतन्त्र व्यक्तिहरुले चुनाव पनि जित्लान् । तर के यस्ता घटनाहरुले नेपाली राजनीतिमा साँच्चै परिवर्तन ल्याउनेवाला छ त ? के अब स्वतन्त्र व्यक्तिहरुले सत्ता हातमा लेलान् त ? अनि मुलुकले परिवर्तन र विकासमा फड्काे मार्लान् त ? के अब अहिलेकाे राज्य व्यवस्थामा भएका बेथिति, विसंगति र भ्रष्टाचारकाे उन्मूलन हुन्छ त ? यी अहं सवालहरुकाे जवाफ नेपाली जनतासँग छ त ? यी सारभूत प्रश्नहरु हामी सामु उब्जिरहेका छन् ।
भाेकाे पेटले अन्न, नाङ्गाे आङले कपडा, तिर्खाएकाे मनले पानी, राेगीले अाैषधी माग गर्नु र पाउने आशा राख्नु स्वभाविक हाे । तर ती चीजहरु दीर्घकालीन रुपमा कसरी हासिल हुन्छ भन्ने कुरा महत्वपूर्ण छ ।
मूलत: राज्य व्यवस्था नै समस्याकाे मुख्य कारक मानिन्छ । केही पात्र जति इमान्दार भए पनि व्यवस्था खराव छ भने त्यसले समग्रतामा केही फरक पार्दैन । व्यक्ति स्थायी हुँदैन, केही समय राम्राे प्रभाव देखाए पनि अन्तमा खरावहरुकाे सिकार बन्छ र बाहिरन्छ । यस्ताे क्रमहरु चलिरहन्छन्। व्यक्तिले व्यवस्थालाई चुनाैती दिएकाे जस्ताे भ्रम सृजना हुन सक्छ, महाभारतका श्रीकृष्णले झैं सारा समाजबाे उध्दार गरिदेलान कि भन्ने लाग्न पनि सक्छ, तर त्याे क्षणिक सावित हुन्छन् । हिजाे पंचायत कालमा पनि केही असल र आशा लाग्दा व्यक्तिहरु राष्ट्रिय पंचायतमा चुनेर गएका थिए । तिनले जनताकाे अधिकारका विषयमा उधुम मच्चाएका पनि थिए । तर उनीहरु पनि बिस्तारै विलाएर गएका थिए । पछि जनताकाे सीमित अधिकार प्राप्त गर्न पंचायतलाई फाल्नु पर्याे । बहुदलीय व्यवस्था आयाे, राजा सहितकाे । त्यसले पनि जनताकाे हितमा काम गर्न सकेन । अर्काे लाेकतन्त्र आयाे, गणतन्त्र आयाे, केही चीजहरुमा परिवर्तन त भयाे, तर मूल रुपमा आधारभूत जनताकाे लागि यसमा पनि कुनै व्यवस्था नभएकाेले देशले आजकाे दुर्गति भाेग्न परिरहेकाे दृष्य हाम्राे सामु उभिएकाे छ । हामी आफैं साक्षी छाैं।
यसैले स्वतन्त्र व्यक्तिहरु राजनीतिमा आउँदैमा यहाँ कुनै आमूल परिवर्तन हुनेवाला छैन । अरुकाे कुरा छाडाैं, रवि लामिछानेले त दल नै खालिसके । तर दलकाे नाम राष्ट्रिय स्वतन्त्र पार्टीभनेर राखेकाे देखिन्छ । यसबाट याे पार्टीलाई नेपालमा रहेका सबै स्वतन्त्र व्यक्तिहरुलाई समेट्ने उद्देश्य रहेेछ भनेर सहज बुझ्न सकिन्छ । स्वतन्त्रहरुकाे कुनै राजनैतिक सिध्दान्त, शासकीय रुपरेखा, मार्गचित्र, व्यवस्थाकाे माेडालिटी लगायतका राज्य व्यवस्थाकाे कुनै मूल्य, मान्यता हुँदैन । तिनीहरु यथास्थितिमा इमान्दारपूर्वक काम गर्ने ध्येयले आएका हुन्छन् । यसकाे अर्थ अहिलेकाे संविधान र कानूनकाे दायरामा रही काम गर्नेसम्मकाे सामान्य मनशाय यिनीहरुकाे देखिन्छ । लाै यिनीहरुलाई असल र इमान्दार नै मानाैं, तर यिनले के नै नयाँ आयाम थप्न सक्छन् र याे व्यवस्थामा ? यिनीहरु भन्दा राम्रा भिजन भएका धेरै नेता कार्यकर्ताहरु सत्तारुढ दलहरुमा पनि थिए र अहिले पनि छन् । तिनले आफ्नाे ठाउँमा र राम्रा काम पनि गरेका छन् । तर त्यसकाे असर समग्रमा छैन ।
यसैले याे विसंगतिपूर्ण, शाेषणमा आधारित, असमानतामा आधारित दलाल नियन्त्रित र निर्देशित मक्किएकाे संसदीय व्यवस्थामा कुनै नयाँ स्वतन्त्र व्यक्ति वा दल थपिनु भनेकाे केवल गाेबरमा किरा थपिनु, फाेहाेरमा झिंगा थपिनु, सिनुमा गिध्द थपिनु, राेपाइँमा राेपाहार थपिनु र सत्तलमा अर्काे नयाँ जाेगी थपिनु जस्ताे मात्रै हाे ।
माैजुदा व्यवस्थाकाे परिवेशमा काे पात्र थपियाे भन्ने घटना भन्दा खराव र विसंगतिपूर्ण व्यवस्था फाली समानतामूलक र उन्नत व्यवस्था स्थापना गर्नकाे लागि काे अघि सर्दैछ र कस्ताे नयाँ पार्टीकाे आगमन हुँदैछ भन्ने कुरा अहम महत्व र चासाेकाे विषय हुनुपर्छ भन्ने मेराे ठम्याइ छ ।
(लेखक वरिष्ठ अधिवक्ता तथा तेमाल अनलाई डटकम को कानूनी सल्लाहकार हुनुहुन्छ ।)
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
















