काभ्रे जिल्लाको चौंरीदेउराली गाउँपालिकाको आर्थिक वर्ष २०७९।०८० अन्तर्गत दशौं गाउँसभा शुरु भएको छ । नयाँ जनप्रतिनिधिहरुको पहिलो गाउँसभाको रुपमा रहेको दशौं गाउँसभा शुक्रबार पालिकाको सभाहलमा शुरु भएको हो ।

दशौं गाउँसभाको उद्घाटन वागमती प्रदेश युवा तथा खेलकुल मन्त्री रत्न ढकालले एक समारोहका बीच उद्घाटन गरेका थिए । उद्घाट कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ढकालले राजनीतिक विभेद नगरी बजेट तर्जुमा गर्न जनप्रतिनिधिहरुलाई सल्लाह दिएका थिए । आफूले चौंरीदेउराली गाउँपालिकालाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताउँदै ढकालले अबको केही समयमै गाउँपालिकाको मुहार फेरिने दावी गरे ।

त्यसैगरी कार्यक्रमको विशेष अतिथि समेत रहेका जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतमले आफू सधैं भरि जनताको काममा केन्द्रित हुने बताए । सबै स्थानीत तहलाई पुलको काम गर्ने बताउँदै गौतमले अब विकास निर्माणको राम्रो र नराम्रो दुवै पक्षलाई अनुगमन गरि सार्वजनिक गर्ने बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व अध्यक्ष दिननाथ गौतमले आफ्नो कार्यकालमा भएका विकास निर्माणको चर्चा गर्दै अब विकासले चौंरीदेउरालीमा गति लिनेमा विश्वास व्यक्त गरे ।

कार्यक्रममा नेकपा (एककृत समाजवादी)का केन्द्रिय सदस्य मुकुन्द गौतम, माओवादी केन्द्रका गाउँ कमिटी इन्चार्ज विष्णुप्रसाद गौतम (अडिग), नेकपा एमालेका गाउँ कमिटि अध्यक्ष जीतराम लामा, नेपाली काँग्रेसका प्रतिनिधि सुरेश कुमार लामा लगायतले नीति तथा कार्यक्रमको विषयमा आ–आफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा गाउँपालिका प्रवक्ता तथा वडा नं. ८ का वडा अध्यक्ष धनबहादुर तामाङले सबैलाई स्वागत गरेका थिए भने प्रमुख प्रशासकीय अधिकत महानदास लामाले सञ्चालन गरेका थिए ।

गाउँसभा आगामी असार २७ गतेसम्मको लागि स्थगित गरिएको छ ।