काभ्रेको चौंरीदेउराली गाउँपालिकाको आर्थिक वर्ष २०७९।०८० को नीति तथा कार्यक्रम आज प्रस्तुत गरिएको छ । गाउँपालिकाको दशौं गाउँसभामा अध्यक्ष रेणुका चौंलागाईंले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

अध्यक्ष चौंलागाईंले प्रस्तुत गरेका नीति तथा कार्यक्रममा कृषि पशुपालन, शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको छ । ८१ बुँदे नीति तथा कार्यक्रममा जनतासँग प्रत्यक्ष जोडिएको विषयहरुलाई समावेश गरिएको छ ।

नीति तथा कार्यक्रममा किसान प्रोत्साहन कार्यक्रम अन्तर्गत सुत्केरी गाई–भैंसीलाई यस अघि दिइदै आएको सुत्केरी भत्तामा रु. ५०० थप गरी रु. दुईहजार पुर्‍याइने उल्लेख छ । त्यसैगरी बालकोटाका शिक्षकहरुलाई विगतमा थप गरिएको मासिक रु. १५००।– मा रु. ५००।– थप गरि रु. २०००।– पुर्‍याइने भएको छ ।

‘गाउँपालिकाका ७० वर्ष भन्दा माथीका जेष्ठ नागरिकहरुका लागि गाउँपालिका भित्र अबस्थित अस्पतालमा निःशुल्क स्वास्थ्य परिक्षण र औषधी उपचारको व्यवस्था गरिनेछ ।’ नीति तथा कार्यक्रममा भनिएको छ, ‘गाउँपालिकाको बर्थिङ सेन्टर र अस्पतालमा सुत्करी हुने यस गाउँपालिका भित्रका महिलाको लागि एम्बुलेन्स सेवा निःशुल्क गरिनुका साथै गाउँपालिकाका स्वास्थ्य चौकी र अस्पतालबाट गर्भवती महिलाहरुलाई निःशुल्क क्याल्सियम चक्की उपलब्ध गराइनेछ।’

यसैबीच जनयुद्ध जनआन्दोलनमा राज्य पक्ष र विद्रोही पक्षबाट हत्या गरिएका र वेपत्ता पारिएका परिवारहरुलाई मासिक रुपमा दिँदै आएको दुई हजारलाई एक हजारले वृद्धि गरि मासिक तीन हजार कायम गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

‘सबै वडाबाट गाउँपालिका केन्द्र जोड्ने मुख्य एकरएक वटा सडकलाई ग्राभेलरकालोपत्रे गर्न एक वर्षिय, बहुवर्षिय, क्रमागत योजनामा समावेश गर्न विशेष जोड गरिनेछ।’ नीति तथा कार्यक्रममा लेखिएको छ ।

भिडियोः

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।