काभ्रे जिल्लाको चौंरीदेउराली गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० देखि जनयुद्ध र जनआन्दोलनका सहिद तथा बेपत्ता पारिएका परिवारलाई मासिक ३ हजार रुपैयाँ नगद दिने भएको छ । शुक्रबार गाउँपालिकाको दशौं गाउँसभामा अध्यक्ष रेणुका चौंलागाईंले प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा सो कुरा उल्लेख गरिएको छ ।
यस अघि गाउँपालिकाले मासिक २ हजार रुपैयाँ दिंदै आएको थियो । ‘यसैबीच जनयुद्ध जनआन्दोलनमा राज्य पक्ष र विद्रोही पक्षबाट हत्या गरिएका र वेपत्ता पारिएका परिवारहरुलाई मासिक रुपमा दिँदै आएको दुई हजार रुपैयाँलाई एक हजारले वृद्धि गरि मासिक तीन हजार रुपैयाँ कायम गरिनेछ ।’ नीति तथा कार्यक्रममा लेखिएको छ ।
भैंसी सुत्केरी भत्तामा बृद्धि
यसैबीच गाउँपालिकाले किसान प्रोत्साहन कार्यक्रम अन्तर्गत आउने आर्थिक वर्षदेखि सुत्केरी गाई–भैंसीलाई दिंदै आएको भत्ता पनि ढाएको छ । अध्यक्ष चौंलागाईंले प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा सो भत्तामा ५ सय रुपैयाँ बृद्धि गरि २ हजार रुपैयाँ दिने उल्लेख छ ।
बालविकासका शिक्षकको तलबमा बृद्धि
त्यसैगरी बालकोटाका शिक्षकहरुको तलबमा मासिक ५ सय रुपैयाँ बृद्धि गर्ने नीति तथा कार्यक्रममा उल्लखे छ । यस अघि संघीय सरकारको निर्णय अनुसार गाउँपालिकाले मासिक रु. १५ सय बृद्धि गरिएकोमा अबरु. ५ सय थप गरि रु. २ हजार पु¥याइने भएको छ ।
स्वास्थ्य उपचारमा निःशुल्क
त्यसै गरि गाउँपालिका अध्यक्ष चौंलागाईंले गाउँपालिकाका ७० वर्ष भन्दा माथीका जेष्ठ नागरिकहरुका लागि गाउँपालिका भित्र अबस्थित अस्पतालमा निःशुल्क स्वास्थ्य परिक्षण र औषधी उपचारको व्यवस्था गरिने जनाएको छ । त्यस्तै गाउँपालिकाको बर्थिङ सेन्टर र अस्पतालमा सुत्करी हुने गाउँपालिका भित्रका महिलाको लागि एम्बुलेन्स सेवा निःशुल्क गरिनुका साथै गाउँपालिकाका स्वास्थ्य चौकी र अस्पतालबाट गर्भवती महिलाहरुलाई निःशुल्क क्याल्सियम चक्की उपलब्ध गराइने चौंलागाईंले नीति तथा कार्यक्रममा उल्लेख गरेका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















