विभिन्न समयमा सामाजिक सञ्जालहरुमा तामाङ जातिको मौलिक बाजा डम्फुको लगत प्रयोजन भएको भन्दै नेपाल तामाङ ताम्बा घेदुङले चिन्ता गरेका छन् । काठमाडौंमा ‘तामाङहरूको मौलिक बाजा डम्फु, धर्म र संस्कृति गलत प्रयोजन भइरहेको सम्बन्धी अन्तरक्रिया’ कार्यक्रमको आयोजना गर्दै घेदुङले चिन्ता जाहेर गरेको हो ।

ताम्बा घेदुङका अध्यक्ष पासाङ मोक्तानले केही समयअघि सामाजिक सञ्जालमा कृश्चियन धर्मावलम्बीहरूले डम्फुको गलत प्रयोग र गीतहरूमा तामाङ पहिरनको अनर्थ प्रयोगले तामाङको संस्कृतिमा आँच आउने कामहरू भइरहेकोप्रति आपत्ति जनाउँदै यसबारे वास्तविकता बुझाउन अन्तरक्रिया गरेको जानकारी दिए ।

अन्तरक्रिया तामाङ घेदुङका सह अध्यक्ष कुमार घिसिङले तामाङको मुल्यमान्यताअनुसार डम्फुमा कुनै धर्मको लोगो राख्नु अनुचित रहेको बताए । उनले त्यस्तै पछिल्लो समय तामाङ गीत गाउनेहरूले जे पायो त्यही गीत गाउन थालेपछि संस्कृतिमाथिको विचलन रहेको उल्लेख गरे ।

यसै गरी कार्यक्रममा वरिष्ठ गायक चन्द्रकुमार मोक्तानले तामाङको रिमठिममा डम्फुको इतिहास पुस्तक लेखेर राख्नुपर्ने बताए । ‘तामाङका बाजाहरूको इतिहास बनाएर राखेमा पछिका पुस्तालाई त्यो प्रमाणित दस्ताबेज हुनेछ ।’ उनले भने‚ ‘हाम्रा पालामा डम्फुबाट इतिहास आदानप्रदान भइरहेको अहिले हराउँदै गएको छ, त्यो जगाउनुपर्नेछ ।’

यस्तै तामाङ कलाकार सङ्घका अध्यक्ष विश्व दोङले तामाङहरू खास खास विषयमा पछि नै परेको बताए । ‘सामाजिक सञ्जालको प्रयोगले ताम्बाको गलत प्रयोग भएको बताउँदै यसमा हामी सचेत हुन जरुरी देखिन्छ’ उनले भने‚ ‘डम्फु दुरुपयोग भन्नेमा चाहिँ तामाङहरू गरिबीको कारण धर्म परिवर्तन गर्नु परेको अवस्थाले गर्दा भएको छ । डम्फु जहाँ बजाए पनि गलत मानसिकताले प्रचारप्रसार गर्नु संस्कृति माथिको हेपाई हो ।’

यसै गरी तामाङ डाजाङका अध्यक्ष फुलकुमार बमजनले तामाङ संस्कृतिमा विकृतिसँगै विचलित बढेको छ । उनले तामाङ्हरुको मानव सभ्यतादेखि चल्दै आएको संस्कृतिको विचलित रोक्न सकिने अवस्था नभएको बताए ।

यस्तै घेदुङका पूर्व महासचिव बाबु घिसिङले तामाङका बाजाहरू सही र ठिक समयमा प्रयोग गर्नु जरुरी देखिएको बताउँदै यस्तो कार्यमा तामाङ घेदुङ गाम्भीर्यता नभएको पाइएको गुनासो गरे ।

यस्तै अनुसन्धानकर्ता खोजराज गोलेले राज्यसत्ताले तामाङलाई न्याय दिन्छ भने आकाशको तारा डोकोमा थप्नुसरह भएको बताए । ‘तामाङ भाषामा केही गर्न खोज्छु, सबै राज्यले बन्देज गरेको छ’‚ उनले भने‚ ‘राज्यसत्ताको दबाब र क्रिश्चियनको प्रभाव बढ्दै गएको छ । कृश्चियनहरुले विदेशी संस्कार भित्रिएको हुँदा आफ्नो संस्कार विचलनमा पारेको हो ।’

कार्यक्रममा इन्द्रराम तामाङ‚ घेदुङका उपाध्यक्ष सन्चु ब्लोन लगायतले संस्कृतिलाई विचलन हुन नदिन हामी सबैको भूमिका महत्त्वपूर्ण रहेको बताए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।