काभ्रे जिल्ला रोशी गाउँपालिकाका स्थानीय जनताले गाउँपालिकामा सञ्चालित क्रसर तथा खानी उद्योगहरु माथि छानविन गर्न माग गरेको छ । गाउँपालिकाले नागरिकको गुनासो सम्बोधन गर्नका लागि आयोजना गरिएको सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानीयले यस्तो माग गरेका हुन् ।

कार्यक्रममा स्थानीय नागरिकले मापदण्डअनुसार खानी सञ्चालन गरिएको हो होइन आवश्यक छानविन गरी रोशीका किसानलाई न्याय दिन समेत आग्रह गरेका थिए ।

रोशी खोला आसपासमा क्रसर उद्योग र ढुङ्गा खानी सञ्चालन गरिएका कारण बाह्रै महिना धमिलो पानी र लेदो मिसिएको पानी बगेकाले खेती गर्न समस्या भएको गुनासो गाउँपालिकालाई गरेका छन् । ‘त्यो खोला कहिले सङ्लो हुन्छ’ स्थानीय पीडित किसानले कार्यक्रममा प्रश्न गरे ।

गाउँपालिकाको वडा नं ७ का विनोदप्रसाद गौतमले मापदण्ड पुगेको भए सञ्चालन गर्न दिन र नपुगेको भए त्यसका बारेमा जनप्रतिनिधिले चित्त बुझ्दो गरी जवाफ दिन आग्रह गरे।

नमोबुद्ध नगरपालिका भएर बग्दै रोशी खोलामा मिसिने दाप्चाखोला र सोही गाउँपालिकाभित्र रोशी खोलासँगै बिपी राजमार्ग आसपासमा मात्रै दर्जन बढी क्रसर उद्योग र ढुङ्गाखानी सञ्चालनमा छन् । ती उद्योग र ढुङ्गाखानीले खेतीयोग्य जमिन (खेतका फाँट)मा लेदोले पुरिनाका साथै रोशी खोला धमिलो भएर दूषित हुँदै आएको छ ।

रोशी खोलामा वातावरण प्रदूषण रोक्न र खोलाको पानी कसरी सफा राख्न सक्छौँ भनेर गाउँपालिको योजना बनाइरहेको प्रमुख प्रशासकीय अधिकृत रामबहादुर तामाङ किसानहरुलाई जानकारी दिए । ‘क्रसरकै कारण राजमार्गसमेत अवरुद्ध हुने अवस्थामा त्यसलाई कसरी व्यवस्थित गर्न सकिन्छ भन्नेबारे केन्द्रित भएर छलफल चलाएका छौँ ।” तामाङले भने, ‘उद्योग कलकारखाना बन्द नै गर्नुपर्छ र निरुत्साहित गर्नुपर्छ भन्ने मान्यता हाम्रो छैन र त्यहीबाट रोजगारी सिर्जनासमेत हुने भएकाले वातावरण प्रदूषणलाई कसरी कम गर्ने भन्नेमा अगाडि बढ्नेछौं ।’

विपिराजमार्गसँगै जोडेर सञ्चालन गरेको क्रसर उद्योगका कारण गम्भिर भूक्षेय मात्र होइन, राजमार्ग नै अवरुद्ध पार्दै आएको छ । किसानका खेतमा समेत क्रसरबाट उत्पादित डसहरु पानीसँगै पुगेपछि उत्पादन घटेको किसानहरुले गुनासो गर्दै आएको छ ।

रोशीखोलमा भएको क्रसर तथा ढुंगाखानी उद्योगहरु गुण्डागर्दी गर्ने व्यक्ति देखि केन्द्रसम्म राजनीतिक पहुँच हुने व्यक्तिहरुको भएकोले स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकारले कुनै पनि कार्वाही प्रक्रिया अघि बढाउन सकेको छैन ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।